धरान/ धरानका विभिन्न कलेज तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सामाजिक कार्यमा पनि संलग्न हुन थालेका छन् ।
विद्यालयको अध्ययन संगै प्रत्येक महिनाको अन्तिम शनिबार उनीहरु विभिन्न सामाजिक कार्यमा संलग्न हुन थालेका छन् । धरानका ६ वटा कलेज र ४ वटा विद्यालयका विद्यार्थीहरु सम्मिलित धरान कम्युनिटीले कहिले विद्यालय सरसफाई त कहिले बजार सफाई गर्दै अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई खाना खुवाउने कार्य गर्दै आएका छन् । यसै बिच आइतबार धरानमा रहेको अपाङ्ग पुर्नस्थापना केन्द्रमा रहेका अपाङ्गहरुलाई खाना खुवाएका छन् । विद्यार्थीहरु आफैले आर्थिक संकलन गरि केन्द्रमा रहेका २२ जना अपाङ्ग भएकाहरुलाई खाना खुवाएको हो । त्यसै गरि उनीहरुले केन्द्र परिशरमा सरसफाई कार्यक्रम पनि गरेका छन् । युवाहरुलाई अध्ययन संगै सामाजिक कार्यमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले कम्युनिटि स्थापना गरि सामाजिक कार्य गर्दै आएको कार्यक्रमका संयोजक लुईस मेवाहाङ राईले बताउनुभयो ।
धरानमा रहेका सामाजिक संघसंस्थाहरु संगको सहकार्यमा युवाहरुलाई सामाजिक कार्यमा संलग्न गराउादै आएको छ । यस अघि कम्युनिटीले सरस्वती बाल अनाथ आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।
