ताप्लेजुङको टिप्तला नाकालाई आधार बनाएर चीनले ढापक्यारेमा बनायो सुख्खा बन्दरगाह :नेपाल सरकारले माउमामा सम्भाव्यता अध्ययन गरे पनि बजेट अभावमा डिपिआर समेत हुन सकेन

ओलाङचुङगोला (ताप्लेजुङ) । दक्षिणी छिमेकी भारतसँग सबैभन्दा कम दूरीमा उत्तरी छिमेकी चीनसँग सीमा जोडिएको त्रिदेशीय सडक सञ्जाल अन्तर्गतको ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलास्थित टिप्तला भन्ज्याङ नाकामा चीन सरकारले सुविधासम्पन्न सुख्खा बन्दरगाह निर्माण गरेको छ । टिप्तला भन्ज्याङ नाकालाई आधार बनाएर छिचुआङ प्रान्तको डिङजे (काउन्टी) जिल्लाको ढापक्यारेमा चीनले सुख्खा बन्दरगाह निर्माण गरेको हो । टिप्तला भन्ज्याङ नाकाबाट ढापक्यारे २२ किमीको दूरीमा रहेको छ । चीनले सुख्खा बन्दरगाह निर्माण गर्नु अगाडि नै नेपाल सरकारले ओलाङचुङगोलाभन्दा १२ किमी अगाडि र टिप्तला भन्ज्याङ नाकाभन्दा १२ किमी नै तल माउमामा सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन गरे तापनि बजेट अभावमा हालसम्म सुख्खा बन्दरगाहको डिपिआर समेत हुन सकेको छैन । नेपाल सरकारले टिप्तला भन्ज्याङ नाका चीनले खुला गर्नु अगावै २०७९ पुसमा उद्योग तथा वाणिज्य मन्त्रालय अन्तर्गतको चोवारस्थित रहेको नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले माउमामा सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन पूरा गरी सरकारलाई प्रतिवेदन समेत बुझाइसकेको थियो । बोर्डले नेपालका भन्सार नाकाहरूमा कन्टेनराइज्ड व्यवस्थापनको काम गर्दै आएको छ । टिप्तला भन्ज्याङ नेपाल–चीनको परम्परागत नाका हो । धनकुटाको मुलघाट–लाबारबोटे भएर तमोर करिडोर हुँदै टिप्तला भन्ज्याङसम्मको दूरी भारतको जोगबनीबाट मात्र ३ सय ५२ किमी रहेको छ । हाल ओलाङचुङगोला–टिप्तला भन्ज्याङसम्म सबै सडकको ट्रयाक खुलिसकेको र सडक स्तरोन्नतिको काम भइरहेको छ । एक वर्ष अगाडि नै नेपाल इन्टरमोडल यातायात विकास बोर्डले सुख्खा बन्दरगाहको प्रि–भिजिबिलिटी अध्ययन पूरा गरिसकेको तथा सुख्खा बन्दरगाहको डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट) तयार भइरहेको बोर्डका इन्जिनियर हरिकृष्ण मिश्राले जानकारी दिनुभएको थियो । तर बोर्डले आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार समेत गरेको थियो ।


बोर्डले गरेको पत्राचारमा भनिएको थियो, मुलुकको आर्थिक क्रियाकलाप वृद्धि गर्न व्यापारजन्य पूर्वाधार अन्तर्गत सुख्खा बन्दरगाह एवं एकीकृत जाँच चौकी जस्ता व्यापार सहजीकरणमा टेवा पु¥याउने भौतिक संरचनाको विकास अपरिहार्य रहेको र हाल विराटनगरको रानीबाट चीनसँग सीमा जोडिएको ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला हुँदै चीनको तिब्बत स्वायत्त क्षेत्र जोड्ने सडकको पहुँच भइरहेको अवस्था रहेको छ । नेपालको भारत तथा चीनबीच व्यापार विस्तार गर्ने सन्दर्भमा दूरीको आधारमा सबैभन्दा छोटो उत्तर–दक्षिण सडक समेतले ओलाङचुङगोला जोडिएको छ । समितिले उक्त नाकाको आ.व. २०७८÷७९ मा पूर्व सम्भाव्यता अध्ययन पूरा गरी सोका लागि नियुक्त परामर्शदाताबाट प्राप्त प्रतिवेदनमा सडकको पहुँच भइरहेको र उत्तर–दक्षिण सीमा जोड्ने सबैभन्दा कम दूरीको सडक भएको हुँदा सो नाकामा सुख्खा बन्दरगाह निर्माण गर्न उपयुक्त हुने जनाएको थियो । यसै सन्दर्भमा फक्तालुङ गाउँपालिका वडा नं. ७ कार्यालय, ओलाङचुङगोलाको पत्र संख्या २०८१÷०८२, च.नं. १०३, मिति २०८१ चैत ११ को पत्रबाट उक्त नाकामा सुख्खा बन्दरगाह निर्माणका लागि आवश्यक जग्गाको उपलब्धता समेतको व्यहोरा उल्लेख गरी सुख्खा बन्दरगाहको डिपिआर निर्माण गरिदिनु हुन समितिमा अनुरोध समेत भएकोले आगामी आ.व. २०८२÷०८३ को नेपाल सरकारको नीति तथा कार्यक्रममा ओलाङचुङगोलामा सुख्खा बन्दरगाह निर्माण गर्नका लागि कार्यक्रम समावेश गर्न बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेलले फक्तालुङ गाउँपालिकाको पत्र समेत संलग्न राखी मन्त्रालयमा पत्राचार गर्नुभएको थियो । तर हालसम्म सरकारले यस सम्बन्धमा कुनै चासो देखाएको छैन । सुख्खा बन्दरगाह निर्माणका लागि यस पटकको सरकारको नीति तथा कार्यक्रममा बजेट विनियोजन हुन नसक्दा ओलाङचुङबासीहरू निराश भएका छन् ।

तपाईको प्रतिक्रिया