धरान बसपार्क उद्घाटनसँगै जस लिनेको होडबाजी

धरान । जग्गा अधिग्रहण विवाद, भूमाफियाहरूको चलखेल, अदालती मुद्दा–मामिला, राजनीतिक उक्साहटका आन्दोलनका बाबजुद निर्माण सम्पन्न भएको धरान स्मार्ट बसपार्कको औपचारिक उद्घाटन भएको छ । धरान उपमहानगरपालिका वडा नं. ८ स्थित तीनकुनेमा सुन्दर बस्ती विकास आयोजना अन्तर्गत निर्माण भएको स्मार्ट बसपार्कको शनिबार धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले एक भव्य सहभागिताका बीच वैदिक परम्परा अनुसार समुदघाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा यातायात व्यवसायीहरू, धरान उपमहानगरपालिकाका पूर्व नगरप्रमुखहरू, निवर्तमान तथा वर्तमान उपप्रमुख एवं वडाध्यक्षहरू, सुरक्षाकर्मीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक अभियन्ताहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । निर्माण गरिएको स्मार्ट बसपार्क २७ कट्ठा जग्गामा बेसमेन्टसहित तीनतलाको रहेको छ । अन्डरग्राउन्ड पार्किङको समेत सुविधा रहेको, एकैपटक ३८ वटा बस, दर्जनौं साना सवारीसाधन अट्ने क्षमताको रहेको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय निकायको समेत गरी ३७ करोड ७१ लाख ४७ हजार २ सय ३८ रुपैयाँमा एक दशकअगाडिदेखि अनेकौं विवादका बीच स्मार्ट बसपार्कको निर्माण सुरु भएको थियो । निर्माण सम्पन्न बसपार्कको बेसमेन्ट १ हजार ८४० वर्गमिटर क्षेत्रफल रहेको र उक्त स्थानमा पार्किङ, दुईवटा सवारी प्रवेश ¥याम्प, निकट भविष्यमा लिफ्ट जडानका लागि तयार पारिएको संरचना, दुवैतर्फ भ¥याङ, एक सय पाँच सिट क्षमता रहेको यात्रु प्रतीक्षालय, दैनिक तथा रात्रि बसका लागि २५ वटा टिकट बुकिङ काउन्टर, भवनभरि सिसीटिभी, एटिएम, प्रहरीको सुरक्षा कक्ष, अपांगमैत्री सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, भाडामा सञ्चालन गर्न सकिने पसल, महिला–पुरुष शौचालय रहेका छन् । यसैगरी ८० हजार लिटर क्षमता भएको खानेपानी ट्यांकी, अग्नि नियन्त्रणका लगायतका पूर्वाधारहरू रहेका छन् ।


सो अवसरमा बोल्दै कार्यवाहक नगरप्रमुख बेघाले भन्नुभयो, जसको समयमा सुरु भए पनि र जसको पालामा उद्घाटन भए पनि धरानमा महत्वपूर्ण संरचना बनेको, धरानको ट्राफिक अस्तव्यस्तताको समाधान भएको बताउनुभयो। बसपार्क हामी धरानेहरूको भएकोले यसको सञ्चालन, संरक्षणमा सबैको समान चासो रहनुपर्नेमा जोड दिनुभयो । यसैगरी पूर्व नगर उपप्रमुख मञ्जु भण्डारी सुवेदीले बसपार्क निर्माणका लागि तीनै तहका सरकारको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, बसपार्क निर्माणका लागि पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन अर्थमन्त्री युवराज खतिवडा, संघीय सरकारका अन्य मन्त्रीसहित प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री, अन्य मन्त्रीहरूको सहयोगको प्रशंसा गर्नुभएको थियो । यसैगरी पूर्व नगरप्रमुख तिलक राईले उद्घाटनमा आयोजकहरूले कसलाई बोलायो, कसलाई बोलाएन भन्नेमा आफ्नो मन्तव्य केन्द्रित गर्नुभएको थियो । धरान बसपार्कमा कुनै प्रकारको योगदान नरहेको निवर्तमान नगरप्रमुख हर्कराज राई साम्पाङलाई उद्घाटनमा नबोलाइएकोप्रति उहाँले गर्नुभएको टिप्पणीप्रति सहभागी सबैले आश्चर्य व्यक्त गरेका थिए। उहाँले भन्नुभयो, हर्क साम्पाङ राई धरानबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । निवर्तमान नगरप्रमुख हुन् । उनलाई किन उद्घाटनमा बोलाइएन? राईको उक्त मन्तव्यलाई अन्य राजनीतिक दलहरूले मात्र नभएर आफ्नै भित्रकाले पनि अर्थपूर्ण रूपमा लिएका थिए । धरान उपमहानगरपालिकाका अधिकृत खगेन्द्र खतिवडाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पूर्व नगरप्रमुख केपी पालुङ्वा, पूर्व प्रधानपञ्च श्याम गोविन्द श्रेष्ठ, पूर्व प्रधानपञ्च बम देवान लगायतको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया