विराटनगर । असार १५ गते कोशी प्रदेशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १५ जना घाइते भएका छन् । दुर्घटनामा परेका सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । एकै दिन ताप्लेजुङ, मोरङ, सुनसरी, झापा र इलाममा गरी १३ वटा सवारी दुर्घटना भएका हुन् । प्रहरीका अनुसार सबैभन्दा धेरै मोरङमा ६ वटा दुर्घटना भएका छन् । त्यसपछि सुनसरीमा ४, ताप्लेजुङ, झापा र इलाममा १÷१ वटा दुर्घटना भएका छन् । अधिकांश दुर्घटना तीव्र गति, चालकको लापरबाही तथा साँघुरा र घुम्ती सडकका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अधिकांश घटनामा मादक पदार्थ सेवन गरेको नदेखिएको प्रहरीले जनाएको छ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ सेसेम्बुस्थित मेची राजमार्गमा लहरी ट्रक र सफारी ट्याक्सी एकआपसमा ठोक्किँदा दुवै सवारीसाधनमा क्षति पुगे पनि मानवीय क्षति भएन । मोरङमा भएका दुर्घटनामध्ये विराटनगर–१४ मा सिटी सफारीले सडक किनारमा रोकिएको पानीको ट्याङ्कीमा ठक्कर दिँदा भारतका तीन यात्रु घाइते भए । बुढीगंगा गाउँपालिका–३ मा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एक जना घाइते भए। बेलबारीमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिला घाइते भइन्। सुनवर्षीमा मोटरसाइकल आफैं दुर्घटना हुँदा चालक घाइते भए । ग्रामथानमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालक र साइकलयात्री गरी दुई जना घाइते भए । विराटनगर–४ मा सिटी सफारीले पैदलयात्रीलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् भने चालक फरार रहेका छन् ।

सुनसरीमा इटहरी–१० मा ट्रक मोड्ने क्रममा पछाडिबाट आएको सिटी सफारी ठोक्किँदा चालकसहित दुई जना घाइते भए । बर्जु गाउँपालिका–६ मा मोटरसाइकल अनियन्त्रित भएर डिभाइडरमा ठोक्किँदा चालक र पछाडि सवार महिला घाइते भए । इटहरी–१० मै स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिला घाइते भइन् । गढी गाउँपालिका–५ मा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा साइकलयात्री घाइते भएका छन् । झापाको बिर्तामोड–५ मा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन् । उनको दाहिने हातको हड्डी भाँचिएको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा गोलिया काठ बोकेको ट्रक करिब सय मिटर तल खस्दा चालक सकुशल रहेका छन् भने सवारी साधनमा क्षति पुगेको छ । दुर्घटनामा घाइते भएका सबैलाई सम्बन्धित जिल्लाका अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । अधिकांश सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेका छन् भने फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एकै दिन भएका यी दुर्घटनाले कोशी प्रदेशका सडकमा अझै पनि तीव्र गति, चालकको असावधानी र ट्राफिक नियम पालनामा कमजोरी रहेको देखिएको छ । विशेषगरी भित्री सडक र राजमार्गमा सावधानी अपनाउन तथा गति नियन्त्रणमा राख्न प्रहरीले सबै चालकलाई आग्रह गरेको छ ।
