खेतियोग्य जमिन मासिदै गएपनि धान दिवस भने मासिएन

धरान । कृषि प्रधान देश नेपालमा हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदै आए पनि खेतीयोग्य जमिन तीव्र रूपमा घडेरीमा परिणत हुँदै गएको अवस्थामा धान दिवसको वास्तविक उद्देश्य नै चुनौतीमा परेको समयमा सरोकारवालाहरूले विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समेत समावेश गरेर कृषि क्षेत्रको प्रवद्र्धनमा जोड दिने प्रयास गरेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा धरान उपमहानगरपालिका(६ स्थित कृषि पकेट क्षेत्र पानबारीमा धान रोपाइँ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ । कार्यक्रममा कृुषक, स्थानीय सरकारका प्रतिनिधि, जनप्रतिनिधि सहित विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीयको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी पर्वत स्कुलकी शिक्षिका विद्या अधिकारीले नेपाल कृषि प्रधान देश भए पनि अहिलेका धेरै बालबालिकालाई धान कसरी रोपिन्छ, कसरी उत्पादन हुन्छ भन्ने व्यावहारिक ज्ञानको अभाव रहेको बताउनुभयो । पाठ्यक्रममा समावेश कृषि सम्बन्धी विषयवस्तुलाई व्यवहारमा सिकाउने उद्देश्यले विद्यार्थीलाई रोपाइँ स्थलमै ल्याइएको उहाँको भनाइ थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि हिलोमा रमाउँदै धान रोप्ने अभ्यास गरेका थिए । उनीहरूले पहिलो पटक खेतमा धान रोप्ने अवसर पाएको र धान खेतीको प्रक्रिया, रोपाइँको समय तथा उत्पादनबारे प्रत्यक्ष रूपमा जानकारी हासिल गरेको बताएका छन । त्यसैगरी हिमाल माविकी शिक्षिका कुसुम गैरेले स्थानीय स्रोत साधनको उपयोग गर्दै परम्परागत रूपमा धान कसरी रोपिन्छ भन्ने सीप विद्यार्थीले प्रत्यक्ष सिकून् भन्ने उद्देश्यले विद्यालयका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराइएको बताउनुभयो । यस्ता कार्यक्रमले विद्यार्थीमा कृषि प्रतिको रुचि बढाउनुका साथै स्थानीय कृषि संस्कृतिको संरक्षणमा समेत योगदान पुग्ने उहाँको विश्वास छ । धान दिवसका अवसरमा आयोजित रोपाइँ कार्यक्रममा शिक्षक, विद्यार्थी र स्थानीयवासीले सामूहिक रूपमा धान रोप्दै हिलो खेल्ने परम्परालाई समेत आत्मसात गरेका थिए । सहभागीहरूले कृषि शिक्षालाई कक्षाकोठामा मात्र सीमित नराखी खेतबारीमै आधारित व्यावहारिक सिकाइसँग जोड्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमले नयाँ पुस्तालाई कृषि पेशाप्रति आकर्षित गराउनुका साथै नेपालको कृषि संस्कृति र परम्परालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् । यस पटकको धान दिवसको नारा ‘जलवायुमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि र आत्मनिर्भरता’ रहेको थियो । धरान ४, ५ र ६ लाई समेटेर साविकको पाँचकन्या क्षेत्रलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्ने स्थानीय सरकारको नीति प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा खेतीयोग्य जमिन निरन्तर घटिरहेको प्रति सहभागीहरुले चिन्ता व्यक्त
गरेका थिए ।

तपाईको प्रतिक्रिया