समुन्द्री सतहबाट ३६३६ मिटर उचाईमा रहेको इलामको सन्दकपुर गेष्ट हाउस निर्माणको अन्तिम चरणमा : सन्दकपुर डा“डाको सीमास्तम्भ गायब हु“दा द्विपक्षीय विवाद पश्चात् ५० मिटर तल भवन निर्माण

सन्दकपुर (इलाम) । अक्सर १२ महिना नै प्रतिकूल मौसम रहने भारतको पश्चिम बंगाल दार्जिलिङ जिल्लासँग जोडिएको र प्रचुर पर्यटकीय सम्भावना बोकेको इलामको सन्दकपुरमा निर्माणाधीन सन्दकपुर गेष्ट हाउसको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । समुन्द्री तहबाट ३ हजार ६ सय ३६ मिटरको उचाईमा रहेको सन्दकपुर डाँडास्थित निर्माणाधीन गेष्ट हाउस आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई लक्षित गरी प्रदेश सरकारको २ करोड ८० लाखको लागतमा वि.सं. २०७८ सालमा निर्माण शुरु भएको हो । गेष्ट हाउस निर्माता कम्पनी स.ए.एस. थेवे–देवी डाँडा जेभीका प्रोप्राइटर नविन तामाङ भन्नुहुन्छ, गेष्ट हाउस निर्माणको अन्तिम चरणमा छ । पानी अत्याधिक आएकोले कलरको कामै गर्न सकिएको छैन । ठेक्का अवधि आगामी २०८३ मंसिरसम्म रहेको छ । वास्तवमै भन्नुपर्दा अब २–३ प्रतिशतमात्र काम बाँकी रहेको छ । गेष्ट हाउस कति तलाको छ त भन्ने सवालमा उहाँले भन्नुभयो, २ तलाको छ । माथिको पहिलो र दोस्रो तलामा गरी १२ वटा कोठा छन् भने भुइँतलामा एउटा डाइनिङ हल, स्टोर रुम र किचन रहेको छ ।
निर्माणको कार्य २०७८ बाट शुरु
निर्माणको काम २०७८ बाट शुरु भएको हो । त्यसैबेला नै सम्झौता पनि भएको हो । तर त्यस बेला जग्गाको विवादले अल्मलिनु प¥यो । झण्डै दुई वर्ष जग्गा विवाद मिलाउनै लाग्यो । प्रोपाइटर तामाङ भन्नुहुन्छ, शुरुमा हेरिएको ठाउँचाहिँ सन्दकपुर डाँडाको आहाल भन्ने ठाउँ थियो । त्यस ठाउँमा भारतीय सुरक्षाबल एसएसबीले गेष्ट हाउस निर्माण गर्न दिएन । जग्गाको टुंगो लगाउनै दुई वर्ष लाग्यो । जग्गाको टुंगो लागेपछि कन्स्ट्रक्सनको फेस शुरु भएको हो । आहाल भन्ने स्थानमा नेपाल–भारत सीमा स्तम्भ हराएको रहेछ । सीमाको टुंगो नलागेसम्म कुनै पनि कन्स्ट्रक्सनको काम नगर्न आग्रह गरे । जग्गा विवाद तुरुन्तै सल्टिने कुरा पनि भएन । त्यसबेला कस्तो सम्भव भयो भने केपी ओली प्रधानमन्त्री थिए । लिपुलेकको विवाद उल्झिएको थियो । त्यसैलाई आधार बनाएर एमालेका विद्यार्थी संगठनहरु गएर आहालमा बन्ने भन्ने स्थानमा झण्डा गाड्ने, नाराबाजी गर्ने जस्तो काम गरे । त्यसपछि समस्या झन् चर्कियो । यसरी विवाद चर्किएपछि निर्माण गर्ने कुरा पनि भएन । फेरि अर्को ठाउँमा सन्दकपुर डाँडामै जग्गा उपलब्ध त भयो तर जग्गाको लागि लाइन क्लियर गर्ने काम भइसकेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले अब्जेक्सन गरे । विवाद सुल्झाउन नेपाल प्रहरी, गाउँपालिका र एसएसबी, दार्जिलिङ प्रहरीबीचमा सहमति भयो । सहमतिमा ५० मिटरभित्र नो मेन्स ल्याण्डमा कुनै प्रकारको संरचना नबनाउने । सन्दकपुर डाँडा पानी ढलको हिसाबले सीमाना तोकिएको हो । पहिलेको स्थानभन्दा ५० मिटर तल आएर निर्माण कार्य शुरु भएको हो ।
गेष्ट हाउसको सबै कार्य सम्पन्न

हाल गेष्ट हाउसको सबै प्रकारका काम सम्पन्न भए पनि कलरिङको काम मात्र बाँकी छ । बाँकी सबै काम सम्पन्न भइसकेको छ । भीरको कार्पेटिङ, झ्याल–ढोका, टपमा ट्रस्ट लगाउने काम भइसकेको छ । भित्री भागमा कलरिङ गर्न सम्भव भए पनि बाहिरचाहिँ सम्भव भएको छैन । डाँडामा गेष्ट हाउस भएकोले अत्याधिक हावा चल्ने र पानी पनि अर्कै खालको आउँछ । जहिल्यै छड्के खालको वर्षा हुन्छ । यद्यपि यही असारभित्रमा काम सम्पन्न गरेर असारभित्रैमा हस्तान्तरण गर्ने प्रयास गरेका छौं । हेरौँ मौसमले कस्तो साथ दिन्छ, तामाङले भन्नुभयो ।
सडकको दुरावस्था
गेष्ट हाउससम्म पुग्ने सडक वर्षायाममा सवारी साधन लिएर जानै सम्भव छैन । तर डाँडासम्म पुग्नचाहिँ नेपाल सरकारले सडक डिभिजन कार्यालय इलाममार्फत सडकको काम भइरहेको छ । बहुवर्षीय ठेक्का लागेको छ । गेष्ट हाउससम्म दुःख–सुख फोरह्विल गाडीहरु केही वरसम्म मात्र पुग्छन् । गेष्ट हाउस सन्दकपुर गाउँपालिकाबाट २० किमी टाढा रहेको छ । सन्दकपुर गेष्ट हाउस वडा नं. २ मा रहेको छ । २ नं. वडा कार्यालयबाट समेत गेष्ट हाउससम्मको दूरी पनि १८ किमी रहेको छ । यति टाढा गेष्ट हाउस बनाउँदा चल्छ त भन्ने सवालमा तामाङ भन्नुहुन्छ, यो ठाउँमा पर्यटकको सिजन हुन्छ । खास गरेर कार्तिकदेखि जेठसम्म पर्यटकहरु आउँछन् । सरकारले राम्रोसँग गेष्ट हाउस चलाएमा २ करोडसम्म नाफा गर्न सक्छ ।
आन्तरिक र बाह्य पर्यटकको घुइँचा
सिजनको समयमा आन्तरिक एवम् बाह्य पर्यटकहरुको असाध्यै घुइँचो हुने गर्छ । भारततर्फ सन्दकपुरमा राम्रो गेष्ट हाउसहरु छैनन् । राम्रो भनेको दुईवटा गेष्ट हाउस नेपालपट्टि नै छन् । हाल बनेको गेष्ट हाउस अत्यन्तै सुविधा सम्पन्न छ । सबै कोठामा एउटा–एउटा एटेज बाथरुम पनि छ । सन्दकपुरमा टुरिस्टको चाप अत्यन्तै बढी हुन्छ, जो त्यहाँ गोठ स्टेमा नअटेर आफैले बोकेर लगेको टेन्टमा बस्छन् । एउटा गोठ स्टेले सिजनमा १ करोडसम्म कमाउँछन् । यहाँ टुरिस्ट किन आउँछन् भने हिमालयन रेन्ज हो । सबैभन्दा बढी हिमाल देखिने ठाउँ सन्दकपुर हो । सगरमाथादेखि लिएर कञ्चनजंघा, मकालु, कुम्भकर्ण सबै हिमाल देखिन्छ । सनराइजको लागि पनि सबैभन्दा उपयुक्त ठाउँ हो । यहाँबाट अर्थात् सन्दकपुरबाट २० किमी अगाडि पाँचथरको फालेट भन्ने ठाउँ छ । त्यहाँसम्म पुग्न टुरिस्टहरु औधी लालायित हुन्छन् । फालेटबाट सिक्किमसम्मको बोर्ड छुट्टिन्छ । धेरैजसो भारतीय टुरिस्टहरु गोठमा आउँदा पनि प्रि–बुकिङ गरेर आउँछन् । प्रिपेड सिस्टमले पहिला पे गर्ने अनि आउँछन् । मुख्य त नेपालका (आन्तरिक), बंगालीहरु र केही मात्रामा चिनियाँ पर्यटकहरु पनि आउने गरेको तामाङले बताउनुभयो । अधिकांश पर्यटक गोठमा पनि ठाउँ नपाउँदा विश्वे, कालपोखरीतिर समेत गएर बस्ने गरेको समेत उहाँले सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया