धरान । भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशका मुस्ताङ जिल्लाका लोमन्थाङमा निर्माण गरिएको लोवो निफुग नाम्ड्रोल नोर्बुलिङ्ग गुम्बा विद्यालयका लागि निर्मित छात्रावास भवनको नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ । लोमन्थाङ गाउँपालिका वडा नं. १ मा निर्माण सम्पन्न भएको उक्त विद्यालयको छात्रावास भवनको असार १ गते सोमबार उद्घाटन गरिएको हो । निर्माण सम्पन्न विद्यालय भवनमा ४ वटा ब्लक र आवश्यक अन्य संरचनाहरू सहितको दुईतले छात्रावास भवनको निर्माण कार्यलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अगाडि बढाइएको थियो भने सोको कार्यान्वयन लोमन्थाङ गाउँपालिकाले गरेको थियो । लोवो निफुग नाम्ड्रोल नोर्बुलिङ्ग गुम्बा विद्यालय स्थापनाकालदेखि नै स्थानीय सांस्कृतिक सम्पदाहरूको संरक्षणमा अद्वितीय भूमिका निर्वाह गर्दै आएको छ । उक्त विद्यालयले बौद्ध शिक्षाका अतिरिक्त नेपाल सरकारको शैक्षिक प्रणाली अनुरूपको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।


सो अवसरमा बोल्दै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उक्त परियोजनामा आबद्ध सम्पूर्ण सरोकारवालाहरूलाई शुभकामना दिनुभएको थियो । उहाँले भन्नुभयो, “साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्न भारत सरकार दृढ प्रतिबद्ध रहेको छ ।” अत्यन्तै विकट भौगोलिक परिवेशमा समेत विद्यालय भवन निर्धारित समयमै निर्माण सम्पन्न भएकोप्रति राजदूत श्रीवास्तवले खुसी व्यक्त गर्दै लोमन्थाङ गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिलाई धन्यवाद दिनुभएको थियो । यसैगरी लोमन्थाङ गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय तथा सरोकारवालाहरूले भारत सरकारको तर्फबाट प्रदान गरिएको विकास सहयोगको प्रशंसा गर्नुभएको थियो । उहाँहरूले निर्माण सम्पन्न भएको नयाँ पूर्वाधारले लोवो निफुग नाम्ड्रोल नोर्बुलिङ्ग गुम्बा विद्यालयको आवास सुविधासँगै समग्र सिकाइ वातावरणमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभएको थियो । यहाँ स्मरणीय कुरा के छ भने उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारत सरकारले नेपालका सातवटा प्रदेशका ७४ वटा जिल्लाहरू समेट्ने गरी ६ सय वटा परियोजनाहरू अगाडि बढाएको थियो । यीमध्ये मुस्ताङ जिल्लामा १८ वटा परियोजना सहित गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा ६३ वटा परियोजनाहरू रहेका छन् । विगतका वर्षहरूमा भारत सरकारले मुस्ताङ जिल्लामा ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस सहित गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बसहरू उपहारस्वरूप प्रदान गरिसकेको छ ।


