विराटनगर । नेपाली काँग्रेसका नेता, बीपीपुत्र तथा पूर्व महामन्त्री डा. सशांक कोइरालाले काँग्रेस फुटिसकेको बताउनु भएको छ । डा. कोइरालाले आइतबार आयोजित काँग्रेस इतर समूहको प्रादेशिक भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । अब यसलाई बचाउन सबै पक्षको इमान्दारीपूर्वक जिम्मेवारी रहेको भन्दै अहिलेको अवस्थामा काँग्रेस इतिहासमै सबैभन्दा कमजोर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “काँग्रेस अत्यन्तै कमजोर अवस्थामा छ । गगन थापाले पार्टी सञ्चालन गर्ने ल्याकत राख्दैनन् । काँग्रेसलाई यो अवस्थामा पु¥याउन निर्वाचन आयोग र अदालत पनि उत्तिकै जिम्मेवार छन् । काँग्रेसलाई फुटाउने काम यिनीहरूले पनि गरेका छन् ।” सम्बोधनका क्रममा डा. कोइराला केही भावुक हुँदै भन्नुभयो, “आज कोइराला निवास गएँ, बीपीले लेखेको पत्र पढ्दा भावुक बनेँ । आँखाबाट आँसु आयो । अब रूढिवादी सोचमा आमूल परिवर्तन आउनुपर्छ । अब काँग्रेस बचाउन पार्टीलाई एक बनाउनुपर्छ ।” र त्यसको नेतृत्व डा. शेखर कोइरालाले गरिरहेको समेत बताउनुभयो ।

यसैगरी डा. शेखर कोइरालाले नेपाली काँग्रेसको जन्म नै लोकतन्त्र र निरंकुशता अन्त्यका लागि भएको भन्दै वर्तमान अवस्थामा काँग्रेसभित्रै लोकतन्त्र कमजोर भएको र निरंकुशता हावी भएको बताउनुभयो । यसका लागि उदाहरण दिँदै उहाँले अधिकांश जिल्लामा वर्तमान नेतृत्वले क्रियाशील अध्यावधिक गर्न नमानेको भन्दै वडाध्यक्षहरूलाई नोकरझैँ हाँकिएको छ । लोकतन्त्र र निरंकुशता अन्त्य गर्न बनेको पार्टीको चरित्र यो हुँदै होइन । प्रादेशिक भेलामा ५ हजारभन्दा बढी कार्यकर्ताहरूको सहभागिता रहेको थियो । धरानबाट समेत ठूलो संख्यामा कार्यकर्ता भेलामा सहभागी भएका थिए । सो अवसरमा पूर्वमन्त्री एवं प्रभावशाली व्यक्तित्व विजयकुमार गच्छदार, राष्ट्रिय सभाका पूर्व अध्यक्ष कृष्ण सिटौला, पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल, पूर्व केन्द्रीय सदस्य सरिता प्रसाई, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, पूर्वमन्त्री एनपी साउद, पूर्वमन्त्री मिन विश्वकर्मा, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की लगायतले सम्बोधन गर्नुभएको थियो ।
