वडाध्यक्षको टिकटको लागि २० लाखको बार्गेनिङ गर्नेबाट का“ग्रेस बलियो हुन्छ ?

अग्रजहरूको नाम भँजाएर काँग्रेसलाई खाने भाँडो बनाएका धन्दावाल काँग्रेसीहरूले स्थानीय निकायको निर्वाचनमा जाबो एउटा वडाध्यक्षको टिकटका लागि २० लाखसम्मको बार्गेनिङ गर्नेहरूबाट बलियो काँग्रेस बनाउँछौँ भन्दै हिँड्नु भँडुवाहरूको दिवास्वप्न मात्र हो । कथित विशेष महाधिवेशनका नाममा पदीय पगरी गुथ्न आतुर भई पार्टीमा विग्रह सिर्जना गर्नेलाई केही लाभेच्छुक झुण्डहरूले देवत्वकरण गरेर हिँडिरहेका छन् । सामाजिक सञ्जालमा बडो आदर्शको कुरा गर्छन्, सहमति, सहकार्य, एकताले नै काँग्रेस बलियो हुन्छ, पार्टीको हित र सबैलाई समेट्ने अभियानमा आ–आफ्नो ठाउँबाट प्रयत्न गरौँ रे । योभन्दा लज्जास्पद कुरा अरू के हुन सक्छ ? सहमति, सहकार्य र एकतामा यिनले कहिले पहल गरे ? पार्टीको नाममा सञ्चालन हुँदै आएका दोकान लगभग बन्द हुने अवस्थामा पुगेका छन् र आगामी स्थानीय निर्वाचनपश्चात् त्यस्ता दोकानहरू लगभग सबै बन्द हुने निश्चित छ । विगतमा सत्ताको रापले स्थानीयदेखि प्रदेश, संघीय संसद्सम्मको निर्वाचनमा उम्मेदवारीका लागि तँछाडमछाडको अवस्था हुन्थ्यो । अधिकांशले स्थानीय मतदाताहरूलाई रिझाउन अभियान चलाउँथे । तर यसपटकको अवस्था सर्वथा भिन्न देखिएको छ । काँग्रेसबाट उम्मेदवार बन्न कोही इच्छुक देखिएका छैनन् । यो प्रवृत्ति नेपाली काँग्रेसमा मात्र नभएर एमाले र माओवादीमा समेत देखिएको छ । विगतमा रकम दिएर उम्मेदवार बन्नेको लर्को लाग्थ्यो । स्थानीय निर्वाचन नजिकिँदै जाँदा काँग्रेसको नगर नेतृत्व, क्षेत्रीय नेतृत्व, जिल्ला नेतृत्व र प्रदेश नेतृत्व पसल खोलेर बस्थे र डाक बढाबढमा उम्मेदवारी चयन हुन्थ्यो ।वास्तवमै भन्नुपर्दा नेपाली काँग्रेसका लागि पुसमा गरिएको विशेष महाधिवेशन नै पार्टी समाप्तिको मार्ग बन्यो । बचकना, सुझबुझहीन व्यक्तिले पार्टी कब्जा गरेपछि मुलुकभरिका कार्यकर्ताहरू भाँडिए । नेपाली काँग्रेस अग्रजको आदर्श, विचारबाट परिचालित राजनीतिक पार्टी हो । यतिबेला काँग्रेसमा न अग्रजको सम्मान छ, न उनीहरूको आदर्श, विचारबाट परिचालित समूह छ । छ त केवल अवसरको खोजीमा रहेका चरम अवसरवादीहरू । कथित विशेष महाधिवेशनबाट पार्टीको पद कब्जा गरे पनि कार्यकर्ताका मन यिनीहरूले जित्न सक्ने कुनै आधार छैन । कार्यकर्तालाई आफ्नो दास ठान्ने प्रवृत्ति देखिएको छ । यसै प्रवृत्तिका कारण २०८२ को निर्वाचनमा काँग्रेसले इतिहासकै सबैभन्दा लज्जास्पद हार व्यहोर्नुप¥यो । मुख्य नेतृत्व आफैँ पराजित हुन पुग्यो । आफू किन पराजित भए भन्ने सामान्य समीक्षा समेत गर्न सकेनन् । किनकि आम मतदाताले तिनलाई पत्याउँदैनन्, विश्वास गर्दैनन् । यसको प्रमुख कारण नेतृत्वको विवादास्पद विगत नै मुख्य कारण हो । कहिले एमसिसी पास भएमा मलाई चारपाटा मुढेर थानकोट कटाउनु भन्ने अनि लुसुक्क एमसिसी पास गर्न संसद्मा गएर मतदान गर्ने, आम्दानीको कुनै स्रोत नहुँदा–नहुँदै करोडौँको गाडीमा सयर गर्ने, मौका पाउनासाथ राज्यलाई अर्बौँ घाटा हुने गरी चलखेल गर्ने आदि भएपछि मतदाताले के आधारमा विश्वास गर्ने ? यही प्रवृत्ति र रवैया कायमै रहे आगामी १५ वर्षसम्म विशेष महाधिवेशनवाला नेतृत्व कुनै पनि हालतमा सत्तामा पुग्ने आकलन गर्न सकिँदैन । त्यसबेलासम्म समुन्द्रमा धेरै पानी बगिसकेको हुन्छ ।

तपाईको प्रतिक्रिया