विराटनगर । गत जेठ ३१ गते कोशी प्रदेशका विभिन्न जिल्लामा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जना गम्भीर तथा २३ जना घाइते भएका छन् । अधिकांश दुर्घटनाको कारण चालकको लापरबाही, तीव्र गति तथा सडक प्रयोगकर्ताको असावधानी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोरङ, सुनसरी, झापा र खोटाङ जिल्लामा भएका १५ वटा दुर्घटनामध्ये अधिकांशमा मोटरसाइकल, सिटी सफारी तथा यात्रुवाहक बस संलग्न रहेका छन् । खोटाङको दिक्तेल–नुनथला सडकखण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् भने बराहपोखरी गाउँपालिकामा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा चालक घाइते भएका छन् । मोरङमा मात्र सात वटा दुर्घटना भएका छन् । विराटनगर, उर्लाबारी, बुढीगंगा, धनपालथान तथा सुन्दरहरैँचा क्षेत्रमा भएका दुर्घटनामा पैदलयात्री, मोटरसाइकल चालक तथा सिटी सफारीका यात्रु घाइते भएका छन् । सुन्दरहरैँचामा केही दिनअघि सिटी सफारी दुर्घटनामा परेका चालकको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

झापाको शिवसताक्षीमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । त्यस्तै कमल गाउँपालिकामा पूर्व–पश्चिम राजमार्गमा दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा ६ जना यात्रु घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सुनसरीमा तीन वटा दुर्घटना भएका छन् । भोक्राहा नरसिंह गाउँपालिकामा मोटरसाइकलले बाटो काट्दै गरेका ७२ वर्षीय वृद्धलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका छन् भने मोटरसाइकल चालक र पछाडि सवार व्यक्ति सामान्य घाइते भएका छन् । देवानगञ्जमा मोटरसाइकल दुर्घटनामा एक जना र सिटी सफारीले चार वर्षीया बालिकालाई ठक्कर दिँदा उनी घाइते भएकी छन् । दुर्घटनामा संलग्न अधिकांश सवारी साधन प्रहरी नियन्त्रणमा रहेका छन् भने फरार चालक तथा सवारीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गति, चालकको लापरबाही, सडकमा खुला चौपाया तथा पैदलयात्रीको असावधानी दुर्घटनाका मुख्य कारण देखिएका छन्। ट्राफिक प्रहरीले सडक सुरक्षा नियमको पालना गर्न तथा सवारी चलाउँदा विशेष सतर्कता अपनाउन सबै चालक तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।
