भारतीय सहयोगमा निर्माण हुने कालीकोट र हुम्लामा विद्यालय भवन र अस्पतालको शिलान्यास

काठमाण्डौ । भारतको आर्थिक सहयोगमा नेपालका दुर्गम जिल्ला कालीकोट र हुम्लामा विद्यालय भवन र अस्पतालको शिलान्यास भएको छ । कर्णाली प्रदेशको कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ४ स्थित जनज्योति माध्यमिक विद्यालय भवन निर्माणका लागि जेठ २८ गते बिहीबार शिलान्यास गरिएको हो । भारत सरकारको आर्थिक सहयोग नेरु ९.३ करोडको लागतमा उक्त विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुने भएको हो । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन भएपछि स्थानीय लगायत सरोकारवालाहरुले खुशी व्यक्त गरेका छन् । सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर के.सी., उपाध्यक्ष पार्वती सिंह सन्ज्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, स्थानीय जनप्रतिनिधिहरुले भारत सरकारद्वारा विद्यालय भवन निर्माणको लागि प्रदान गरिने सहयोगको प्रशंसा गर्नुभएको थियो । हाँहरुले नयाँ पूर्वाधार सान्नी त्रिवेणी गाउँपालिकाका विद्यार्थीले मात्र नभएर छिमेकी गाउँपालिकाका विद्यार्थीहरुले समेत सिकाइको अनुकूल वातावरण प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । भारतीय राजदूतावास काठमाण्डौद्वारा जारी विज्ञप्तिअनुसार विद्यालय भवन शिलान्यासप्रति भारतीय राजदूत नवीन श्रीवास्तवले एक भिडियो सन्देशमार्फत उक्त परियोजनाका सम्पूर्ण सरोकारवालाहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो । भिडियो सन्देशमा उहाँले साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धता दोहो¥याउनु भएको थियो । उक्त परियोजनाको कार्यान्वयन सान्नी त्रिवेणी गाउँपालिका मार्फत गरिने भएको छ । यहाँ स्मरणीय कुरा के छ भने उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमको शुरुवात भएयता भारत सरकारद्वारा नेपालका सातैवटा प्रदेश र ७४ वटा जिल्लाहरु समेट्ने गरी करिब ६ सय वटा परियोजनाहरु सञ्चालन गरिएका छन् । यसमध्ये १८ वटा परियोजनाहरु कर्णाली प्रदेशका विभिन्न क्षेत्रहरुमा रहेका छन् ।


यसका अतिरिक्त भारत सरकारले कालीकोटमा चार वटा एम्बुलेन्स, दुई वटा स्कूल बस सहित कर्णाली प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरुलाई ५६ वटा एम्बुलेन्स र १४ वटा स्कुल बसहरु उपहार स्वरुप प्रदान गरिसकेको छ । यसैगरी भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नं. २ मा जेठ २८ गते नै नेपाल–भारत मैत्री अस्पताल भवन निर्माणको शिलान्यास गरिएको छ । उक्त अस्पताल भवन नेरु १४.८ करोडको लागतमा निर्माण हुने भएको छ । शिलान्यास गरिएका अस्पताल भवन समेत उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुने र सो भवन निर्माणको कार्यान्वयन चंखेली गाउँपालिकामार्फत हुने भएको छ । अस्पताल भवन शिलान्यासप्रति चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही, उपाध्यक्ष प्रेमकला शाही, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतले भारत सरकारको आर्थिक सहयोगमा अस्पताल भवनको निर्माण हुन लागेकोमा खुशी व्यक्त गर्नुभएको थियो । उहाँहरुले निर्माण हुने नयाँ संरचनाबाट चंखेली गाउँपालिकामा स्वास्थ्य सेवाको राम्रो पहुँच पुग्नेमा विश्वास व्यक्त गर्नुभएको थियो । अस्पताल भवन शिलान्यासप्रति भारतीय राजदूत नवीन श्रीवास्तवले एक भिडियो सन्देशमार्फत परियोजनाका सम्पूर्ण सरोकारवालाहरुलाई शुभकामना दिनुभएको थियो । उहाँले साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्न भारत सरकार दृढ प्रतिबद्ध रहेको दोहो¥याउनु भएको छ । उक्त अस्पताल समेत उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको हो । यो परियोजना कार्यक्रमको नेपालमा शुरुवात भएयता नेपाल–भारत मैत्री अस्पताल भवन परियोजना हुम्लाका लागि तेस्रो हो । यसअघि भारत सरकारले सर्केगाडस्थित सरस्वती माध्यमिक विद्यालय भवनको हाताभित्र पुस्तकालय भवन निर्माणका लागि र चंखेली–दार्मास्थित महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला तथा पुस्तकालय भवन निर्माण गर्न अनुदान सहयोग उपलब्ध गराएको थियो । भारत सरकारले सन् २०२४ को जुलाईमा हुम्ला जिल्लाका चंखेली, सर्केगाड र सिमकोट गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि सम्मिलित १० सदस्यीय टोलीलाई भारतमा अध्ययन भ्रमणको आयोजना समेत गरेको छ ।

तपाईको प्रतिक्रिया