इण्डो नेपाल टुरिष्ट वेलफेयर सोसाइटीको टोली विजयपुरमा

धरान । पूर्वी नेपालको धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित विजयपुर क्षेत्र पछिल्ला वर्षहरूमा नेपाल(भारत धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । नेपाल र भारत बीचको सदियौँ पुरानो आध्यात्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले भारतीय पर्यटकहरूको आगमन बढ्दै जाँदा धरानको विजयपुर क्षेत्र धार्मिक पर्यटनको प्रवद्र्धनमा थप टेवा पुगेको छ । हालै इण्डो नेपाल टुरिष्ट वेलफेयर सोसाइटीको नेतृत्वमा भारतका विभिन्न ऐतिहासिक तथा धार्मिक नगरबाट आएका पर्यटकहरूको टोलीले धरान–१४ स्थित विजयपुर क्षेत्रको भ्रमण गरेको छ । टोलीले विजयपुरका प्रसिद्ध पिण्डेश्वर मन्दिर, दन्तकाली तथा बुढासुब्बा मन्दिरमा श्रद्धापूर्वक दर्शन गर्नुका साथै मन्दिर व्यवस्थापन समिति, धार्मिक अगुवा तथा स्थानीय समुदायसँग धार्मिक पर्यटनको सम्भावना र प्रवद्र्धनका विषयमा बुझ्ने काम गरेको छ । भ्रमणका क्रममा विजयपुर आध्यात्मिक मञ्च तथा स्थानीय धार्मिक समुदायले भारतीय पर्यटकहरूलाई स्वागत गरेका थिए । टोलीमा सहभागी भारतीय पर्यटक राखी प्रधुम्न शुक्ला र राखी प्रधुम्न शुक्लाले आफूहरुलाई गरेको स्वागतप्रति धन्यवाद प्रकट गर्दै नेपालका धार्मिक स्थलहरूको चर्चा भारतमा धेरै सुनेको भए पनि प्रत्यक्ष रूपमा यहाँको दर्शन गर्न पाउँदा आफहरुलाई खुशी लागेको बताएका छन् ।

यस्तै इण्डो नेपाल टुरिष्ट वेलफेयर सोसाइटीका अध्यक्ष जेपी सिंहले नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशबीचको कूटनीतिक सम्बन्ध मात्र नभई साझा सभ्यता, संस्कृति र आस्थाले जोडिएको सम्बन्ध भएको बताउनुभयो । उहाँले विजयपुर क्षेत्रमा पाइने धार्मिक सम्पदा, यहाँको आध्यात्मिक वातावरण र स्थानीयवासीको आतिथ्यताले भारतीय पर्यटकलाई पुनः नेपाल भ्रमणका लागि प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । उनीहरुले नेपालका धार्मिक स्थलहरूको चर्चा भारतमा धेरै सुनेको भए पनि प्रत्यक्ष रूपमा यहाँको दर्शन गर्न पाउँदा आफू निकै भावुक भएको बताएका थिए । सो अवसरमा बोल्दै विजयपुर अध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवालले उहाँहरुको विजयपुरको भ्रमणले भारत र नेपालबीचका धार्मिक पर्यटनको प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । उहाँहरुको भ्रमणपछि नेपालमा भएका धार्मिक पर्यटक क्षेत्रको प्रचारप्रसार हुने भएकोले विजयपुरको प्रवद्र्धनमा समेत थप सहयोग पुग्ने बताउनुभयो । धरानको विजयपुर क्षेत्र धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले विशेष महत्व बोकेको क्षेत्र हो । यस्ता भ्रमणले भारत र नेपालबीचको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने व्यवसायी एवम् सुनसरी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रामस्वरुप शर्माले बताउनुभयो । यहाँ अवस्थित दन्तकाली मन्दिर हिन्दू धर्मावलम्बीहरूको प्रमुख शक्तिपीठका रूपमा परिचित छ । इण्डो नेपाल टुरिष्ट वेलफेयर सोसाइटीले विगतदेखि नै नेपाल र भारतबीच धार्मिक पर्यटन विस्तारका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ । संस्थाले नेपालका धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार भारतका विभिन्न राज्यमा गर्दै आएको छ भने भारतका धार्मिक क्षेत्रहरूको जानकारी नेपालमा समेत पु¥याउँदै आएको छ । खुला सीमा, साझा संस्कृति, धार्मिक आस्था र ऐतिहासिक सम्बन्धले नेपाल र भारतका नागरिकलाई लामो समयदेखि जोड्दै आएको छ । पछिल्लो समय धार्मिक पर्यटनमार्फत यस सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयासहरू भइरहेका छन् । विजयपुरमा भएको पछिल्लो भ्रमणले दुई देशबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै पूर्वी नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थपिने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया