नेपाल नेत्रज्योति संघद्वारा निःशुल्क आँखा तथा कान शिविर सञ्चालन : धरानका सार्वजनिक तथा संस्थागत एक सयभन्दा बढी विद्यालयका पा“च हजार विद्यार्थीको परीक्षण

धरान । अन्धोपन न्यूनीकरणमा नेपाल नेत्रज्योति संघले कोशी प्रदेशमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सरोकारवालाहरूले बताएका छन् । संघको कोशी प्रदेश कार्यालयद्वारा सञ्चालित विराट आँखा अस्पतालले गत असारदेखि हालसम्म धरानका सार्वजनिक तथा संस्थागत विद्यालयका पाँच हजारभन्दा बढी विद्यार्थीहरूको निःशुल्क आँखा तथा कानको परीक्षण सम्पन्न गरेको छ । सोमबार मात्र नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित विराट आँखा अस्पतालका प्राविधिक चिकित्सकहरूले धरानस्थित युरेका आवासीय माविका छात्र एवं छात्राहरूको निःशुल्क आँखा र कानको परीक्षण गरेका छन् । धरान उपमहानगरपालिका शिक्षा तथा स्वास्थ्य शाखाको समन्वयमा विद्यालय हाताभित्रै विद्यार्थीहरूको आँखा तथा कानको परीक्षण गरिएको थियो । नेपाल नेत्रज्योति संघ कोशी प्रदेशले हाल विराटनगर, इटहरी, उदयपुर, धनकुटा गरी चार ठाउँबाट आँखा र कानका बिरामीहरूलाई निःशुल्क सेवा पु¥याउँदै आएको छ । नेपाल नेत्रज्योति संघ कोशी प्रदेशका सचिव जयकुमार निरौलाका अनुसार यसरी निःशुल्क शिविर सञ्चालनका लागि सिविएम, सेवा फाउन्डेशनले सहयोग गरिरहेका छन् । इटहरीलाई सेवा फाउन्डेशनले सपोर्ट गरेको भने विराटनगरलाई सिविएमले सपोर्ट गर्छ । हाल शिविर सञ्चालनका लागि प्राविधिक चिकित्सक र बिरामी बोक्नका लागि यातायातका साधन नै सिविएमले दिएको हो । हाल नेत्रज्योति संघले कोशी प्रदेशका कुन कुन ठाउँमा यस्ता निःशुल्क शिविरहरू सञ्चालन गर्दै आएको छ भन्ने सम्बन्धमा सचिव निरौला भन्नुहुन्छ, धरानमा हामीले २०८२ असार ६ गतेदेखि सञ्चालन गरेका हौँ । इलाम, तेह्रथुम, भोजपुर, संखुवासभा, फिदिममा समेत सञ्चालन भइरहेका छन् । फिदिममा तीन ठाउँमा शिविर सञ्चालन हुँदै आएको छ जसमा यासोक, मिक्लाजुङ र याङ गाउँमा । इटहरीमा समेत नेत्रज्योति संघले वैशाख २५ गतेदेखि कार्यक्रम सुरु गरेको छ ।
परीक्षण, शल्यक्रिया निःशुल्क


नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको आँखा तथा कान शिविरमा परीक्षणसँगै सम्पूर्ण थप उपचार निःशुल्क हुने गरेको संघका कोशी प्रदेश सचिव जयकुमार निरौलाले बताउनुभयो ।
उहाँले भन्नुभयो आँखाको मोतियाबिन्दुको अप्रेसन, लेन्स सबै निःशुल्क प्रदान गरिन्छ । अन्य प्राइभेट अस्पतालमा मोतियाबिन्दुको अप्रेसन तथा लेन्सका लागि हजारौँ खर्च गर्नुपर्ने हुन्छ । शिविरभन्दा बाहिरका बिरामीहरूको लागि समेत विराट आँखा अस्पतालमा न्यून शुल्क मात्र लिने गरिएको छ । शिविरमा परीक्षण गरिएका बिरामीहरूलाई विराट आँखा अस्पताल आफैले आफ्नै यातायातका साधनबाट अस्पताल पु¥याउने गरेको छ । फर्कँदा र बस्दा आफ्नो खाने खर्च बाहेक अन्य कुनै शुल्क लाग्दैन । बस्नका लागि समेत अस्पतालले नै बिरामी र उनीहरूका आफन्तका लागि व्यवस्था गरेको छ । हाल नेपाल नेत्रज्योति संघका देशभरमा ६६ वटा जिल्ला शाखाहरू रहेका छन् । संघले देशभरिका २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्रहरूबाट गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ ।
विगत ४८ वर्षदेखि निरन्तर सेवा
नेपाल नेत्रज्योति संघले विगत ४८ वर्षदेखि नेपाली जनतालाई सुलभ र गुणस्तरीय आँखा तथा कानको उपचार सेवा प्रदान गर्दै आएको छ । वि.सं. २०३५ सालमा प्रा.डा. रामप्रसाद पोखरेलको अगुवाइमा संघको स्थापना भएको हो । संघले सन् २०१८ देखि सन् २०२२ सम्म देशका विभिन्न विद्यालयहरूमा अध्ययनरत १० लाखभन्दा बढी विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण गरी परीक्षण स्थलमै आवश्यक ठहरिएकाहरूलाई चस्मा समेत निःशुल्क प्रदान गरेको थियो । यो क्रम हालसम्म जारी रहेको छ । नेपाल नेत्रज्योति संघ कोशी प्रदेशले धरानका विद्यालयहरूमा गरेको निःशुल्क परीक्षणसँगै चस्मा समेत निःशुल्क वितरण गरेको छ ।
विदेशीहरूको चाप
आँखा उपचारका लागि यतिबेला ठूलो संख्यामा विदेशीहरू नेपाल आउने गरेको विराट आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ललित अग्रवालले जानकारी दिनुभयो ।
समग्रमा भन्नुपर्दा हरेक वर्ष आँखा उपचारका लागि आउने विदेशीको संख्या ८ लाखको हाराहारीमा देखिएको छ । खास गरेर भारत, बंगलादेश, भुटानका नागरिकहरू आँखा उपचारका लागि आउने गर्छन् । यसरी आउने विदेशीहरूमा ९० प्रतिशत भारतीय, बाँकी बंगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाइल्यान्डका रहेका छन् । यसको प्रमुख कारण भरपर्दो र गुणस्तरीय सेवासँगै सर्वसुलभ शुल्क नै हो । थाइल्यान्डमा १ लाख ५० हजार पर्ने सर्जरीलाई नेत्रज्योति संघद्वारा सञ्चालित अस्पतालमा १४ हजार मात्र पर्छ ।

तपाईको प्रतिक्रिया