धरान । शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले धनकुटाको चौविसे गाउँपालिका–८ चौकी भन्ज्याङस्थित सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित शिक्षकहरूको टोलीले धरानस्थित पब्लिक हाईस्कुलको अवलोकन भ्रमण गरेको छ । वि.सं. २०१६ सालमा स्थापना भएको सिंहदेवी माध्यमिक विद्यालय धनकुटाको ग्रामीण क्षेत्रमा शिक्षा विस्तार र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको पुरानो सामुदायिक विद्यालय हो । सीमित स्रोतसाधनबाट सुरु भएको विद्यालयले हाल आधारभूत तहदेखि कक्षा ११ र १२ सम्मको अध्ययन–अध्यापन सञ्चालन गर्दै आएको छ । पछिल्लो समय विद्यालयले शैक्षिक गुणस्तर सुधार र व्यवस्थापनलाई थप सुदृढ बनाउने अभियानअन्तर्गत उत्कृष्ट अभ्यास भएका विद्यालयहरूको अध्ययनलाई प्राथमिकता दिएको छ । यसै क्रममा विद्यालयका प्रधानाध्यापक मनप्रसाद लिम्बुको नेतृत्वमा पुगेको टोलीले धरान–१२ चतरालाइनस्थित पब्लिक हाईस्कुलको शैक्षिक गतिविधि, व्यवस्थापन प्रणाली, भौतिक पूर्वाधार तथा सिकाइ प्रक्रियाबारे प्रत्यक्ष जानकारी लिएको थियो । सिंहदेवी माविकी शिक्षिका दिलकुमारी मगरले कोशी प्रदेशकै नमूना सामुदायिक विद्यालयका रूपमा परिचित पब्लिक हाईस्कुलको शैक्षिक अभ्यासबाट सिक्ने उद्देश्यले भ्रमण गरिएको बताउनुभयो । उहाँले विद्यालयको व्यवस्थापन शैली, शिक्षण पद्धति तथा विद्यार्थीमैत्री वातावरणबारे जानकारी प्राप्त भएको उल्लेख गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक मनप्रसाद लिम्बुले सामुदायिक विद्यालय भएर पनि पब्लिक हाईस्कुलले निजी विद्यालयसरह शैक्षिक उपलब्धि हासिल गरेको भन्दै त्यसका सकारात्मक अभ्यासहरू आफ्नो विद्यालयमा लागू गर्ने उद्देश्यले अवलोकन भ्रमण आयोजना गरिएको बताउनुभयो । ‘सामुदायिक विद्यालयले पनि प्रभावकारी व्यवस्थापन, अनुशासित वातावरण र गुणस्तरीय शिक्षणमार्फत उत्कृष्ट नतिजा दिन सक्छ भन्ने उदाहरण पब्लिक हाईस्कुलले प्रस्तुत गरेको छ,’ उहाँले भन्नुभयो, ‘हामीले यहाँका सफल अभ्यासहरू अध्ययन गरेर आफ्नै विद्यालयमा लागू गर्ने प्रयास गर्नेछौँ ।’ अवलोकन भ्रमणका क्रममा पब्लिक हाईस्कुलका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले विद्यालयको शैक्षिक इतिहास, उपलब्धि, व्यवस्थापन प्रणाली तथा भविष्यका योजनाबारे जानकारी गराउनुभएको थियो । उहाँले यस्ता भ्रमणले विद्यालयहरूबीच अनुभव आदानप्रदान हुने, आपसी सहकार्य बढ्ने र शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । धरान–१२ चतरालाइनमा रहेको पब्लिक हाईस्कुल पूर्वी नेपालको प्रतिष्ठित तथा ऐतिहासिक शैक्षिक संस्थामध्ये एक मानिन्छ । विद्यालयले नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन–अध्यापन गराउँदै आएको छ । विज्ञान, व्यवस्थापन, शिक्षा लगायतका विषयमा उच्च माध्यमिक तह सञ्चालन गर्दै आएको विद्यालयमा प्राविधिक शिक्षाअन्तर्गत कम्प्युटर इन्जिनियरिङ अध्ययनको व्यवस्था समेत रहेको छ । शिक्षामा गुणस्तर सुधारका लागि विद्यालयबीच हुने यस्ता अवलोकन भ्रमणले अनुभव आदानप्रदान, नवीन अभ्यासको विस्तार र शैक्षिक सहकार्यलाई बलियो बनाउने विश्वास गरिएको छ । शिक्षण सिकाइलाई समयानुकूल र प्रतिस्पर्धी बनाउने दिशामा यस्ता पहलहरू सामुदायिक विद्यालयका लागि थप प्रेरणादायी बन्ने देखिएको छ ।
