धरान । केही वर्षअघिसम्म नेपालमा ड्रागन फल भन्नासाथ विदेशबाट आयात गरिने महँगो फलको रूपमा चिनिन्थ्यो । तर आज सुनसरीको धरान–५ ठिंगाबारीमा दुई दाजुभाइले आफ्नै माटोमा उत्पादन गरेको ड्रागन फल उपभोक्ताको रोजाइ बनेको छ । पशुपालनसँगै आधुनिक कृषि प्रविधिलाई अंगाल्दै कृषक सूर्य लिम्बु र उनका भाइ देवी लिम्बुले सञ्चालन गरेको नव ऊर्जा बहुद्देश्यीय कृषि फर्म अहिले सफल अर्गानिक ड्रागन फल खेतीको नमुना बनेको छ । दक्षिण अमेरिकाको मेक्सिकोबाट सुरु भई भियतनाम र थाइल्यान्ड हुँदै नेपाल भित्रिएको ड्रागन फलको खेती पछिल्ला वर्षहरूमा लोकप्रिय बन्दै गएको छ । विशेषगरी स्वास्थ्यप्रति सचेत उपभोक्ताहरूबीच यसको माग तीव्र रूपमा बढिरहेको छ । यही सम्भावनालाई अवसरका रूपमा लिएर लिम्बु दाजुभाइले व्यावसायिक रूपमा ड्रागन फल खेती सुरु गरेका थिए । आज उनीहरूको मेहनतले स्थानीय बजारमा गुणस्तरीय नेपाली ड्रागन फल सहज रूपमा उपलब्ध गराइरहेको छ । धरान–५ ठिंगाबारीस्थित फर्ममा पशुपालनसँगै आधुनिक र पूर्ण रूपमा अर्गानिक प्रविधिबाट ‘रेड भेराइटी’ ड्रागन फल उत्पादन भइरहेको छ । कृषक सूर्य लिम्बुका अनुसार अन्य फलफूल वर्षमा एकपटक वा सीमित सिजनमा मात्र उत्पादन हुने भए पनि ड्रागन फलले जेठदेखि कात्तिक–मंसिरसम्म निरन्तर उत्पादन दिन्छ । ‘अरू फलफूल सिजनमा मात्रै फल्छन्, तर ड्रागन फलले ९ देखि १० पटकसम्म उत्पादन दिन्छ,’ लिम्बु भन्नुहुन्छ्, ‘यसको बजार अत्यन्त राम्रो छ । स्थानीय बजारमै माग धेरै भएकाले उत्पादन बाहिर पठाउनुपर्ने अवस्था छैन ।’ फर्ममा उत्पादन हुने शतप्रतिशत अर्गानिक रेड ड्रागन फल स्वादिलो, रसिलो र ताजा हुने भएकाले उपभोक्ताहरू प्रत्यक्ष फर्ममै पुगेर खरिद गर्न आउने गरेका छन् । विदेशबाट आयात गरिएका फल लामो समय ढुवानी भएर बजारमा पुग्ने हुँदा ताजापन कम हुने भए पनि स्थानीय उत्पादन भने बगैँचाबाटै उपभोक्तासम्म पुग्ने भएकाले यसको स्वाद र गुणस्तरमा फरक अनुभव गर्न सकिने कृषक लिम्बुको दाबी छ ।

ड्रागन फल स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायक मानिन्छ । यसमा पर्याप्त मात्रामा फाइबर, कार्बोहाइड्रेट, प्रोटिन तथा अन्य पोषक तत्व पाइन्छन् । शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन, पाचन प्रणाली सुधार गर्न तथा स्वास्थ्य सन्तुलन कायम राख्न सहयोग गर्ने भएकाले पछिल्लो समय स्वास्थ्यप्रेमी उपभोक्ताहरूको पहिलो रोजाइ बन्न थालेको छ ।
स्थानीय उत्पादनको प्रवद्र्धनले देशको अर्थतन्त्र मजबुत बन्ने विश्वास व्यक्त गर्दै कृषक लिम्बु भन्नुहुन्छ, ‘हाम्रै धरानको माटोमा उत्पादन भएको फल आयातित फलभन्दा धेरै ताजा, रसिलो र स्वादिष्ट हुन्छ । राज्यले स्थानीय उत्पादनलाई प्राथमिकता दिने हो भने किसान आत्मनिर्भर बन्न सक्छन् र देशको अर्थतन्त्र पनि सबल बन्छ ।’ नव ऊर्जा बहुद्देश्यीय कृषि फर्म अहिले सुनसरी जिल्लामै कृषि फर्मको नमूनाको रूपमा चिनिन थालेको छ । पशुपालन र आधुनिक फलखेतीलाई एकसाथ जोडेर गरिएको यो प्रयासले स्थानीय युवाहरूमा कृषिप्रति नयाँ आशा र आकर्षण जगाएको छ । कृषिलाई केवल परम्परागत जीविकोपार्जनको माध्यम होइन, आधुनिक उद्यमका रूपमा विकास गर्न सकिन्छ भन्ने सन्देश यो फर्मले व्यवहारमै प्रमाणित गरेको छ । ठिंगाबारीको माटोमा फलेको ड्रागन फलले आज स्थानीय उत्पादनको शक्ति, किसानको आत्मविश्वास र आत्मनिर्भर नेपालको सम्भावनालाई एकैसाथ उजागर गरिरहेको छ ।
