धरान । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने गण्डकी प्रदेशको मनाङ जिल्लाको नासो गाउँपालिका वडा नं. ५ मा मनाङ अस्पताल भवनको शिलान्यास भएको छ ।
नेपालस्थित भारतीय राजदूतावासद्वारा जेठ १४ गते जारी विज्ञप्तिका अनुसार निर्माणाधीन भवनको भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे र नासो गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले एक समारोहबीच संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो ।


भारत सरकारको आर्थिक सहयोगमा नेरु ५.६ करोड लागतमा निर्माण सम्पन्न हुने उक्त परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत रहेको र सोको कार्यान्वयन नासो गाउँपालिका मार्फत गरिने भएको छ । सो अवसरमा नासो गाउँपालिकाका अध्यक्ष गुरुङ लगायत अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । उहाँहरुले निर्माण हुने नयाँ संरचनाले नासो गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँचलाई थप सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
नेपाल र भारत अत्यन्तै निकटका छिमेकी र दुवै देशबीचमा व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ बनाउन भारत सरकारको निरन्तर सहयोग रहने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।


