भारत सरकारका अनुदान सहयोग अन्तर्गत निर्माण हुने विद्यालय भवनको सम्झौतामा हस्ताक्षर

धरान । भारत सरकारको अनुदान सहयोग अन्तर्गत १४ वटा विद्यालयहरुको भवन निर्माणका लागि ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयन इकाई बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले नेपालका गोरखा जिल्ला, नुवाकोट जिल्ला, धादिङ जिल्ला, दोलखा जिल्ला, काठमाडौं, काभ्रेपलाञ्चोक जिल्ला, रामेछाप जिल्ला र सिन्धुपाल्चोक जिल्लाहरुमा १४ वटा विद्यालय भवनहरुको निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । निर्माण हुन यी सबै विद्यालय भवनहरु भारत सरकारद्वारा नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण सहायता अन्तर्गतकै ५६.०२ करोड अनुदान नै हो । सम्झौतापत्रमा हस्ताक्षरित उक्त कार्यक्रममा भारतीय राजदूतावासका विकास साझेदारी एवं पुनर्निर्माण विभागका काउन्सलर, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अधिकारीहरु तथा ठेकेदार कम्पनीका सञ्चालक एवं आधिकारिक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


सम्झौता भएका सबै १४ वटै विद्यालय भवनहरु नेपाल सरकारको भूकम्प प्रतिरोधी पुनर्निर्माण सम्बन्धी मापदण्ड बमोजिम निर्माण हुने भएका छन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, आवश्यक सम्पूर्ण फर्निचर सहितका कक्षा कोठाहरु, विद्यालय प्रशासनिक कक्ष, मिटिङ हल, छात्र एवं छात्राका लागि सुविधा सम्पन्न सरसफाइका संरचनाहरु, पुस्तकालय आदि रहने भएका छन् । भारत सरकारले २०७२ को महाविनाशकारी भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत ८ वटा जिल्लाका ७० वटा विद्यालय र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी सन् २०२४ जनवरीमा नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु लगायत नेपालको सामाजिक, आर्थिक विकासका लागि नेपाल सरकार र सम्बन्धित निकायहरुसँग निरन्तर सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको सम्झौता पश्चात् दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया