धरानमा भेट्रान खेलाडीहरूको उत्सव सुरु

धरान । धरानको फुटबल इतिहास केवल मैदानमा सीमित छैन, यो शहरको भावना, पहिचान र पुस्तौँदेखि बगिरहेको खेल संस्कृतिसँग जोडिएको कथा पनि हो । त्यही कथालाई फेरि एकपटक जीवन्त बनाउँदै चौथो ‘हाम्रो भेट्रान फुटबल प्रतियोगिता २०८३’ शनिबारदेखि धरान–१६ स्थित रंगशालामा सुरु भएको छ । उमेरले शरीरलाई केही थकित बनाए पनि खेलप्रतिको मोह अझै उस्तै छ भन्ने सन्देश भेट्रान खेलाडीहरूले मैदानमा उत्रिएर दिएका छन् । उद्घाटन खेलमै दर्शकहरूले रोमाञ्चक प्रतिस्पर्धा हेर्न पाए । धरान भेट्रान फुटबल क्लबले धरान भेट्रान क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात ग¥यो । खेलको १५औँ मिनेटमा गणेश लिम्बुले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ३०औँ मिनेटमा जनक सुनुवारले अर्को गोल थपेपछि धरान भेट्रान फुटबल क्लब बलियो अवस्थामा पुगेको थियो । यद्यपि, धरान भेट्रान क्लबका दिलीप बास्कोटाले सोही मिनेटमा एक गोल फर्काउँदै खेललाई थप प्रतिस्पर्धात्मक बनाएका थिए ।

मैदानमा खेलाडीहरूको दौड, दर्शकदीर्घाबाट उठ्ने हुटिङ, पुराना समर्थकहरूको उत्साह र फुटबलप्रतिको प्रेमले रंगशालालाई फेरि पुरानै लयमा फर्काएको अनुभूति गरायो । खेल जितेपछिका खुसीयालीसँगै खेलाडीहरूको अनुहारमा अनुभव, संघर्ष र फुटबलप्रतिको समर्पण स्पष्ट देखिन्थ्यो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले भेट्रान खेलाडीहरूले नयाँ पुस्तालाई प्रेरणा दिने काम गरिरहेको बताउनुभयो । उहाँले अनुभवको हस्तान्तरण खेलकुदको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै अवकाशपछि पनि खेलाडीहरू समाज र खेल क्षेत्रमै सक्रिय रहनु आफैँमा सकारात्मक उदाहरण भएको धारणा राख्नुभयो । ‘फुटबल केवल खेल होइन, अनुशासन, स्वास्थ्य र सामाजिक एकताको माध्यम पनि हो,’ उहाँले भन्नुभयो, ‘धरानमा फुटबलप्रतिको चासो जोगाइराख्न यस्ता प्रतियोगिताले ठूलो भूमिका खेलिरहेका छन् ।’ धरान फुटबलको उर्वर भूमिका रूपमा परिचित शहर हो । यहाँका धेरै खेलाडीले राष्ट्रिय टोलीदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान बनाएका छन् । अहिले भेट्रान खेलाडीहरूले पुनः मैदान तताउँदा पुराना दिनहरूको सम्झना मात्र होइन, नयाँ पुस्तालाई खेल संस्कृतिसँग जोड्ने वातावरण पनि बनेको छ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीहरूमा धरान भेट्रान सुनसरी, मिल्स भेट्रान मोरङ, पूर्वेली भेट्रान झापा, हाम्रो इटहरी भेट्रान सुनसरी, भरौल भेट्रान, विराट भेट्रान मोरङ, हाम्रो धरान भेट्रान तथा बेलका भेट्रान रहेका छन् । प्रतियोगिताको विजेता टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई ६० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी उत्कृष्ट खेलाडी र प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । धरानमा फेरि एकपटक फुटबल बाँचिरहेको छ– उमेरभन्दा माथि उठेर, सम्झनाभन्दा अगाडि बढेर, नयाँ पुस्तालाई प्रेरणा दिँदै ।

तपाईको प्रतिक्रिया