शनिबार–आइतबार बिदापछि बीपी प्रतिष्ठानमा नयाँ समय तालिका लागू,

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले बहिरङ्ग सेवा दर्ता, ओपिडी जाँच तथा शल्यक्रिया सेवाको समय तालिकामा संशोधन गर्दै नयाँ व्यवस्था लागू गर्ने भएको छ। नेपाल सरकारको निर्णयअनुसार अब हरेक हप्ताको शनिबार र आइतबार सार्वजनिक बिदा हुने भएपछि प्रतिष्ठानले २०८३ जेठ ८ गतेदेखि लागू हुने गरी नयाँ समय तालिका सार्वजनिक गरेको हो । प्रतिष्ठानका प्रवक्ता प्रा।डा।शमशेर श्रेष्ठद्वारा जारी सूचनाअनुसार सेवाग्राहीको चाप व्यवस्थापन गर्दै उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन क्लिनिकल विभागीय प्रमुखहरूसँगको छलफल तथा समन्वयपछि नयाँ तालिका लागू गरिएको जनाइएको छ ।

नयाँ व्यवस्था अनुसार सोमबारदेखि शुक्रबारसम्म नियमित ओपिडी सेवा सञ्चालन हुनेछ। नियमित टिकट दर्ता बिहान ७ः३० बजेदेखि दिउँसो १२ः०० बजेसम्म हुनेछ भने दिउँसो १२ः०० बजेदेखि २ः०० बजेसम्म केवल ‘जिओपिडी’ र विशेष चिकित्सकीय सेवाका लागि टिकट दर्ता खुला रहनेछ । बिरामी जाँच सेवा भने बिहान ९ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म सञ्चालन हुनेछ । यसैगरी विस्तारित अस्पताल सेवा तथा शुल्क तिरेर गरिने विशेष क्लिनिक सेवा अन्तर्गत टिकट दर्ता बेलुकी ३ः३० बजेदेखि ५ः०० बजेसम्म हुनेछ भने बिरामी जाँच सेवा बेलुकी ५ः०० बजेदेखि सुरु हुने प्रतिष्ठानले जनाएको छ । नियमित शल्यक्रिया सेवा पनि सोमबारदेखि शुक्रबारसम्म साविककै समय अनुसार सञ्चालन हुने बताइएको छ । प्रतिष्ठानले नयाँ समय तालिकाभित्र ओपिडी प्रक्रियासम्बन्धी सेवा तथा शिक्षण अभ्यासअन्तर्गत सञ्चालन हुने शैक्षिक ओपिडी सेवासमेत समावेश गरिने स्पष्ट पारेको छ । प्रतिष्ठानले सेवाग्राहीलाई तोकिएको समयभित्र सेवा लिन अनुरोध गर्दै नयाँ व्यवस्थाले अस्पताल सेवा थप व्यवस्थित, प्रभावकारी र सेवामैत्री बन्ने विश्वास व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया