धनकुटा । चार दशक अगाडि आफ्नो जन्मथलो धनकुटा छाडेर काठमाण्डौंलाई कर्मथलो बनाउँदै आउनु भएका बरिष्ठ साहित्यकार अशेष मल्लको उपस्थितिमा धनकुटाको तल्लो कोप्चेमा गत बिहीबार कवि गोष्ठी तथा साहित्यिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।

केही दिनका लागि काठमाण्डौंबाट धनकुटा आउनु भएका मल्लसँगै अर्का बरिष्ठ साहित्यकार गोविन्द गिरी प्रेरणाको समेत कार्यक्रममा भएको उपस्थितिले थप रौनकता थपेको थियो ।
आफ्नै परिवेश, बाल्यकालका सुमधुर स्मरणहरू, आफ्नै बालसखा र प्राकृतिक मनोरम आत्मीय वातावरणमा आयोजित कवि गोष्ठी तथा साहित्यिक संवादमा झण्डै दुई दर्जन स्थानीय र जिल्लाबाहिरका कवि तथा कवयित्रीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा संजय सयल, रेणु पौड्याल, मुकुन्द प्रयास, केजी सुब्बा, निर्मल कुँवर, मैया रसायली सुब्बा, रमेशचन्द्र अधिकारी, रोशन परियार, वीरबहादुर लामा, योगेश नेवार, ललितकुमार विक, सन्देश सुब्बा लगायतका स्रष्टाहरूले कविता वाचन गर्नुभएको थियो । स्थानीय स्रष्टाहरूको कवितावाचन पश्चात अतिथिका रूपमा सहभागी हुनु भएका बरिष्ठ साहित्यकार मल्ल र प्रेरणाले समेत आफ्ना सिर्जना प्रस्तुत गर्दा सहभागी स्रष्टाहरू आलादित भएका थिए । सो अवसरमा धनकुटाका पुराना पुस्ताका लेखक, कवि एवम् साहित्यिक फाँटमा अनवरत समर्पित स्रष्टाहरूले साहित्यकार मल्लको नेपाली साहित्यिक क्षेत्रमै पु¥याउनु भएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए । यस्ता कार्यक्रमले साहित्यिक स्रष्टाबीचमा आत्मीयता मात्र बढाएको नभई नव साहित्यकारलाई ऊर्जा समेत प्रदान गरेकोले आगामी दिनमा यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिएका थिए ।
