बहुलाएछन् त्रिपाठी
आजकल नेपालका दुई–चार सिटे सांसदहरू मात्र बहुलाएका होलान् भन्या त विगतका सबै तह र तप्काका झोलेहरू समेत पूरै सुट्कीसकेछन् । अब त्यो वरिष्ठ अधिवक्ता भनाउँदो दिनेश त्रिपाठी समेत पूरै खुस्किएछ । अस्तिका दिन ती एकोहोरिएर फलाक्दै थिए । बालेनभन्दा त ओली र देउवा सयौँ गुणा ठीक थिए रे । हुन त हो, त्रिपाठीले तिनैबाट रकम पाउँथे, गाडी दिएका थिए, घर पाएका थिए । ओली र देउवाको झोला बोकेपछि धनको वर्षा हुन्थ्यो । जसले खान दिन्छ, गाडी दिन्छ, घर दिन्छ त्यो असल नहुने कुरै भएन । बालेन सरकार आएसी ‘विचाराको धोती न लगौटी भा’छ । बालेन सरकारले त्रिपाठीलाई चारो हाल्दैनन् । चारो नपाएसी’ कन्सिरी तात्नु स्वाभाविक हो । अझ बालेन सरकारले त्रिपाठीहरूको सम्पत्ति छानबिन गरेर जफत गर्ने तयारी थालेसी’ ‘वचराको होसहवास उड्या छ । त्यत्रो अर्बौँको सम्पत्तिको स्रोत गरिब निमुखालाई न्यायको नाममा लुट्ने, अवैधलाई वैध बनाएर नेताको झोला बोक्ने ल्याकत मात्र भएका त्रिपाठीलाई बेलैमा उपचारको व्यवस्था गर्ने हो कि ? नत्र त्रिपाठी कुनै दिन लुगा आफैँ च्यातेर सडकमा आउलान् है ।
कहिल्यै नसुध्रिने भए

पुराना दलका ठेट्ना अनुहार अब त सुध्रिए होलान् भन्या त फुइँयाँको सुध्रिनु ? मेरा बाउले घ्यु खाएका थिए नपत्याए हात सुँघ त भनेजस्तै छ । विदेशीको ग्र्यान डिजाइन र लगानीबाट कथित सभापति बनेका बाख्रे काजीको ताल देख्दा उदेक लाग्न थाल्या छ । हुन त के सुध्रिउन तिनै पुरानाहरुको स्कुलिङबाट आएका न परे । अन्टसन्ट हावादारी फुइँ लगाउनु भन्दा तिनले अर्थोक जान्या पनि छैनन् । जसले जे जति जान्या हुन्छ उसले गर्न, भन्ने पनि त्यति त हो । अब हेरम न अस्तिका दिन तिनले भन्या बालेन सरकारले ल्याएको अध्यादेश सबै राष्ट्रिय सभाबाट असफल बनाउँछौ रे । बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरुको घर पनि बन्न दिँदैन । यतिका वर्षसम्म लुटको धन्दा गर्दै आएका बाख्रे काजीलाई अरुले राम्रो काम गर्दा डाहा हुनु स्वाभाविक हो । राजनीतिक नियुक्ति खारेज, झोलेछाप ट्रेड युनियन, विद्यार्थी संगठन खारेज, भ्रष्टको सम्पत्ति जफत, सुकुम्बासीका नाममा रजाइँ गर्दै आएका हुकुम्बासीहरू लखेट्ने काम बाख्रे काजीलाई निको नलाग्नु स्वाभाविकै हो । यो देशलाई त्यसै सतिले सराप्या भनेर त्यसै भन्या हैन । हुन त जनताबाट नांगिएका बाख्रे काजीको के चर्चा
गर्नु ? वित्थामा !
हतार हतार फिर्ता गरेछन्
उखानटुक्का हानेरै पटक पटक सत्तामा पुगेका खप्रओ बाले अस्तिका दिन अलिकता नतिकता देखाएछन् । राज्यकोषबाट उपचारको नाममा लिएको ३ करोड ९० लाख बुझाएछन् । राज्यको ढुकुटी आफ्नै पैतृक सम्पत्ति सम्झेर गिलो आची आउँदा पनि लुटेकै छ । किड्नी फेर्दा पनि लुटेकै छ, हाच्छ्यौ आउँदा पनि लुटेकै छ । धन्न बेलैमा उपचार वापत लिएको पैसाचाहिँ बुझाएर अख्तियारको फन्दाबाट मुक्त भएछन् । नत्र अख्तियारले मेजमानी गर्न लाग्या थियो । अब बहालवाला शीतल निवासे कागती बाजे, आफ्नो पैतृक सम्पत्ति छेलिखेलो भए नि राज्यबाट करोडौँ कुम्ल्याएर पूर्व शीतल निवासे मुखिया रामवरन यादव, अकबरे बाजे आच्या सर्पनाथ झल्लाझलु, श्यालबहादुर काजीहरूले अझै राज्यबाट हजम गरेका उपचार खर्च वापतको रकम फिर्ता गरेका छैनन् । यिनको टाउकोमा साढे सातको बादल मडारिँदै छ । जाकिन्छन् कि क्या हो ?
आन्दोलन गर्न निर्देशन द्या छ रे
जनताले लगौटी समेत खुस्काएर नाङ्गै बनाउँदा समेत प्रचण्डाउ अझै सुध्रिएका रै’नछन् । हुन त मार्ने, लुट्ने, कब्जा गर्ने, धम्क्याउने स्कुलका हेडमास्टर नपरे । तिनलाई त्यो भन्दा बाहेक अर्थोक सोचै माउँदैन । अब हेरम न, मान्छे पत्रु भएसी’ उसको सोच पनि त्यसै अनुसार नै हुने हो । यतिबेला विचरा साह्रै आत्तिएका छन् । बालेन्द्र सरकारले क्यान्टोनमेन्टको घोटालादेखि हिजो बैंकबाट लुटेका सबै छानबिन गर्न थालेसी’ त्यसै त्यसै बर्बराउन थाल्या छन् । कहिले देशका सबै कम्युनिस्ट एक नभए हामी सबै सिद्धिन्छौँ भनेर चिच्याउँछन् । कहिले के भन्छन् । जस्तो करनी वैसी भरनी भन्ने कुरा त तिनलाई राम्ररी थाहा छ । सरकारले खाँद्ने भएसी कहिले भन्छन् हामीलाई जंगल पस्न बाध्य नपारियोस् । हुँदाहुँदा अस्तिका दिन त सरकारका विरुद्ध आन्दोलन गर्न सबैलाई निर्देशन दिइसक्या छु रे । हैन, हिङ्ग सिद्धिए पनि डिङ बाँधको टालो सुँघाएर त भएन नि । फेरि तिनका निर्देशनलाई कसले मान्ने ? कार्यकर्ता सिद्धिइसके, बाँकी रहेका लाभको व्यापार गरेर बसेका झोलेहरू भाटा खान अगाडि आउलान् जस्तो छैन । विचरा प्रचण्डाउको हालत बुरी छ ।
ठीक भने प्रेमले
पूर्व सचिव प्रेम सञ्जेलले अस्तिका दिन बडो गज्जबको कुरा गरे । घण्टाघरको पनि मनै छोयो । कडा स्वभावका निस्कलंकित सञ्जेलले अख्तियार भन्या दाँत कोट्याएर खिसिक्क हाँसेर कुर्सीमा बस्ने हैन । दसी प्रमाणका आधारमा भकुरेर भ्रष्टलाई खाँद्ने निकाय हो रे । क्या वात ! अहिलेसम्मका अख्तियार प्रमुखहरूले मालिकको चाकडी गरी उनीहरूले फालेको हड्डी चपाएर दाँत कोट्याएर खिसिक्क हाँस्ने भन्दा अर्थोक केचाहिँ गरे र ? नत्र यतिञ्जेल ललित निवास डकार्ने, एनसेलबाट अर्बौँ बजाउने, बाल
मन्दिरको जग्गा पड्काउने, सर्प पाल्न करोडौँ रुपैयाँ लिने, क्विन्टलका क्विन्टल सुन ओसार्ने, लाउडा चपाउने, धमिजा चपाउने, आफ्नै नागरिक बेच्ने, टेरामक्स घोटालाका नाइके, फ्रिमा राज्यकोबाट डल्लो परि परि घिचेर बसेका पूर्व भिआइपीहरूलाई अख्तियारले केही लछारपाटो लगाउनै सकेन । दाँत कोट्याएर खिस्स गरेरै बस्या रै’छन् ।
शर्मा पनि दह«ै दिन्छन्
लाउरेका नेता सुनिल शर्मा यदाकदा दह्रो दिन्छन् । अस्तिका दिन शर्माले भने, बालेन्द्र साह विरुद्ध षड्यन्त्र गर्नेहरू समयसँगै आफैँ समाप्त भएर जान्छन्
रे । बालेन साहको विरोध गर्नेहरू पार्टीगत स्वार्थ र झोले प्रवृत्तिका मात्र छन् रे । जेहोस्, सुनिल शर्माले दह्रो दिए । अब लाउरेसका झाले, झालेमालेका झोले, प्रचण्डाउका झोलेहरू के गर्लान् ? झोले भएसी’ पार्टीको इज्जत ढाक्न त बोल्नै प¥यो । सडकमा यसो नाराबाजी त गर्नै प¥यो । नत्र झोले हुनुको अर्थ नै के रह्यो ? हेर्दैँ जाम, केही गर्छन् कि ? गरे भने यसो बिउसम्म बाँकी रहेछ भनौँला नत्र त्यही हो ।
बाटो तताए हुन्छ रे
हाम्रा बाजे बराजुले त्यसै भन्या हैन रै’छन् । ती दिन गए, यी दिन आए, मोइ खाने ठाउँमा खै के जाति पलाए भनेर अब हेरम न हाम्रा खप्रओको गोडा पनि एक महिना अगाडि सानो सानो थिएन । दशैँभरिका कार्यकर्ता आइलभयू केपी बा भनेर गुणगान गाउथे । कसैले चुइक्क बोल्न सक्दैनथे । हुन त समय–समयको खेल हो । आज आएर तिनै आइलभयू भन्नेहरूले उछित्तो काढ्न लाग्या छन् । अस्तिका दिन पूर्व अर्थमन्त्री गोकर्ण विष्टले खप्रओको हुर्मत नै लिएछन् । पार्टीको नेतृत्व छाड्नसम्म भन्देछन् । उपचारबापत राज्यकोबाट लिएको ३ करोड ९० लाख बुढाले पार्टीको कोषबाट बुझाएछन् । अझैसम्म बुढाको किन चेत नखुलेको होला ? पार्टीको कोष त कार्यकर्ताले लेवी तिरेर जम्मा ग¥या हो । खप्रओले त्यसरी मनपर्दी चलाउन पाइँदैन सम्म भन्देछन् । आफ्नैले त्यसरी हप्कीदप्की गर्दा विचराको मन कति कुँडिएको होला ? पिण्ड खाने बेला भा’का आफ्नै अध्यक्षलाई त्यसरी भनि नहाल्नुपर्ने थियो । कि कसो हौ ?
अन्तेमा
आफ्नै खुट्टामा उभिएर हिँड्न र थेग्रिनसमेत नसक्ने महन्त ठाकुरलाई यतिबेला बडो टाउको दुखाइ भा’छ । बालेन साहले यस्तै काम गर्दै गए भने अर्को चुनावसम्ममा राजनीतिक दलहरू गायब हुन्छन् रे । हैन बुढालाई किन चिन्ता लाग्या होला ? आज हो कि भोलि पिण्ड खाने बेला भा’छ । खाली अरु लाउरेस, झालेमाले, मधेशवादीहरूको चिन्ता ग¥या छ । हुन त बुढाले गर्न नै भए पनि
राष्ट्रिय सभामा तिनैको पुच्छर अँठ्याएर पुगेका हुन् क्यारे । जाने बेलामा बरु यसो हरिको नाम जपे वेश हुन्थ्यो । कि कसो हौ ?
