सुनसरीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

धरान । सुनसरी प्रहरीले छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले इटहरी र पकली क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । गत जेठ १ गते साँझ करिब ६ः०० बजे इटहरी उपमहानगरपालिका–४ फलामे पुल क्षेत्रमा इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा इटहरी–२ निवासी ३० वर्षीय रोशन धामीलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ०.३५ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ । पक्राउ परेका धामीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सोही दिन बिहान करिब ९ः३० बजे इटहरी उपमहानगरपालिका–१७ पकली क्षेत्रमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले इटहरी–८ निवासी ३२ वर्षीय शुसिल कुमार राजवंशीलाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा उनको साथबाट ०.३० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । दुवै घटनामा पक्राउ परेकामाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया