उदयपुर । उदयपुरका वरिष्ठ पत्रकार, लेखक एवम् इतिहासकार कौशल चेम्जोङद्वारा लिखित नेपालको इतिहासमा उदयपुर नामक कृतिको शुक्रबार विमोचन भएको छ । नेपालको इतिहासमा खास गरेर वि.सं. १९०० देखि २००७ सालसम्मका घटनाक्रमलाई समेटिएको छ । बोलीमा ठट्ट्यौलीपन भएपनि ऐतिहासिक दस्तावेजहरूको गहन अध्ययन गर्दै आउनुभएका चेम्जोङले आफ्नो पछिल्लो पुस्तक नेपालको इतिहासमा उदयपुरमा १७ वर्ष अवधिका ऐतिहासिक दस्तावेजहरूलाई समेट्नुभएको छ ।

त्रियुगा नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले पुस्तकका संयुक्त रूपमा विमोचन गर्नुभएको थियो । विमोचित कृतिका ऐतिहासिक दस्तावेजमाथि डा. कैलाशकुमार राई, साहित्यकार शारदा प्रसाद भट्टराई, रविन्द्रराज साही तथा विमला कार्कीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । सो अवसरमा मन्तव्य व्यक्त गर्दै त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेतले भन्नुभयो, “उदयपुर जिल्लाको एउटा कालखण्ड बुझ्नका लागि पुस्तक अत्यन्तै उपयोगी र पठनीय रहेको छ ।” झण्डै चार दशकदेखि उदयपुरको त्रियुगालाई कर्मक्षेत्र बनाएर पत्रकारिता समेत गर्दै आउनुभएका ऐतिहासिक दस्तावेजका लेखक चेम्जोङलाई उहाँले साधुवाद व्यक्त गर्नुभयो । यसैगरी त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार कोइराला, उपप्रमुख महेश्वरी राई, राममणि पोखरेल, सामाजिक महाशाखाका प्रमुख राजकुमार खड्काले पुस्तकका उपादेयतामाथि प्रकाश पार्नुभएको थियो । लेखक चेम्जोङको शुक्रबार विमोचित यो पाँचौँ कृति हो । यसअघि उहाँले उदयपुरको पर्यटन विकास ः सम्भावना र चुनौती (२०६१), जीवनका रंगहरू (२०७०), भूत लघुकथा संग्रह (२०७८) र उदयपुरको साहित्य (२०८०) प्रकाशित गरिसक्नुभएको छ ।
