धरान, असार ५ । एम्स एकेडेमी ले आफ्नो रजत जयन्ती (२५औँ वर्ष) को अवसर पारेर कक्षा ११ विज्ञान संकायका विद्यार्थीका लागि २५ भन्दा बढी छात्रवृत्ति घोषणा गरेको छ।
एकेडेमीले शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना प्रक्रिया सुरु गर्दै विभिन्न विधामा छात्रवृत्ति तथा नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने जनाएको हो। कलेजले नेपाल सरकारको नयाँ शैक्षिक नीतिअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष, सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ। कलेजले सार्वजनिक गरेको शुल्क संरचनाअनुसार कक्षा ११ विज्ञान संकायतर्फ भर्ना शुल्क ६ हजार रुपैयाँ, वार्षिक शुल्क १२ हजार रुपैयाँ, जीवविज्ञान प्रयोगशाला शुल्क ३० हजार रुपैयाँ तथा कम्प्युटर प्रयोगशाला शुल्क ३५ हजार रुपैयाँ निर्धारण गरिएको छ। मासिक शुल्क ५ हजार रुपैयाँ तोकिएको छ भने कक्षा १२ मा मासिक शुल्क ५ हजार ५ सय रुपैयाँ रहने जानकारी दिइएको छ।
एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई विशेष छात्रवृत्ति सुविधा प्रदान गरिने कलेजले जनाएको छ। ए प्लस ग्रेड प्राप्त विद्यार्थीले शतप्रतिशत भर्ना शुल्क छुटसहित मासिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्। त्यस्तै, ए ग्रेड ल्याउने विद्यार्थीलाई ५० प्रतिशत भर्ना शुल्क तथा २५ प्रतिशत मासिक शुल्क छुट र बी प्लस ग्रेड ल्याउनेलाई २५ प्रतिशत भर्ना शुल्क तथा १० प्रतिशत मासिक शुल्क छुटको व्यवस्था गरिएको प्रिन्सिपल सन्तोष कोइराला ले जानकारी दिए। कलेजका अनुसार विद्यालय टपर, एकल महिला, भूमिहीन तथा शिक्षकका छोराछोरीलाई अतिरिक्त “एक ग्रेड अप” सुविधा उपलब्ध गराइनेछ। साथै सरकारी विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीलाई समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। एम्स एकेडेमीले विज्ञान, व्यवस्थापन, शिक्षा तथा कम्प्युटर साइन्स लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, स्मार्ट कक्षा तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको कलेज प्रशासनले जनाएको छ। कलेजले प्रमाणपत्रमुखी शिक्षाभन्दा व्यवहारिक ज्ञान, नैतिकता र प्रतिस्पर्धात्मक क्षमता विकासमा केन्द्रित शिक्षण प्रणाली अवलम्बन गर्दै आएको पनि जनाएको छ।
