भारतीय सहयोगमा निर्माण हुने सिद्धनाथ मा.वि. भवनको शिलान्यास

काठमाडौँ । नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १२ स्थित सिद्धनाथ माध्यमिक विद्यालय भवनको वैशाख २८ गते एक विशेष समारोहबीच शिलान्यास गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा नेरु ३.६ करोडको लागतमा निर्माण हुने उक्त विद्यालय भवनको कार्यान्वयन धनगढी उपमहानगरपालिकाद्वारा गरिने दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । जारी विज्ञप्तिअनुसार सो शिलान्यास समारोहमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विद्यालय भवन निर्माणमा भारत सरकारद्वारा प्राप्त सहयोगको प्रशंसा गर्नुभएको थियो । उहाँले भन्नुभयो, शिक्षा, स्वास्थ्य, खानेपानी एवं पूर्वाधार निर्माणका क्षेत्रमा भारत सरकारले नेपाललाई सहयोग गर्दै आएको र आगामी दिनमा समेत उच्च प्रभाव क्षेत्रमा भारतीय सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।


यसैगरी धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले भारत सरकारले प्राथमिकताका क्षेत्रहरूको पहिचान गरी सहयोग प्रदान गर्दै आएको बताउनुभयो । कार्यक्रममा अन्य सरोकारवालाहरूले पनि भारतीय सहयोगको प्रशंसा गर्नुभएको थियो। सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक एवं शिक्षिका, छात्र, छात्रा, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, नेपाल सरकारका जिल्लास्थित विशिष्ट कर्मचारीहरूको उपस्थिति रहेको थियो । दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, नजिकको छिमेकीको रूपमा रहेका भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै समृद्धिलाई अगाडि बढाउन नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकार सदैव तत्पर छ ।

तपाईको प्रतिक्रिया