सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न नगर शिक्षा योजना

धरान । धरान उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित नगर शिक्षा योजना निर्माण प्रक्रियालाई तीव्र बनाएको छ । यही विषयमा उपमहानगरपालिकामा आयोजित अन्तक्र्रिया तथा छलफल कार्यक्रममा शिक्षा क्षेत्रका सरोकारवालाहरूले योजना निर्माणका विभिन्न पक्षबारे विस्तृत छलफल गरेका छन् । कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा, शिक्षा प्रशासन सेवाका पूर्व उपसचिव डिल्लीराम अधिकारी, शिक्षा महाशाखाका प्रतिनिधि, शिक्षाप्रेमी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावक संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

छलफलका क्रममा पूर्व उपसचिव अधिकारीले नगर शिक्षा योजना निर्माणका प्राविधिक तथा नीतिगत पक्षबारे प्रस्तुति दिँदै योजना निर्माणका सात प्रमुख आधार प्रस्तुत गर्नुभया े। उहाँका अनुसार विषय प्रवेश, योजना निर्माणको आवश्यकता र औचित्य, स्थानीय तहमा शिक्षा योजनाको महत्व, योजना निर्माणका आधार, निर्माण प्रक्रिया, योजनाको लेखाजोखा तथा दस्ताबेजको स्वरूपलाई योजनाको मुख्य ढाँचाका रूपमा समेटिएको छ । उहाँले विद्यार्थीहरुको नियमित सहभागिता, अभिभावकको विद्यालयमा सहभागिता कम रहेकै कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उस्कन नकसकेको बताउनुभयो ।
योजनालाई प्रभावकारी बनाउन पाँच चरणमा काम अघि बढाइने जनाइएको छ। पहिलो चरणमा समिति गठन, दोस्रो चरणमा सरोकारवालाहरूको अभिमुखीकरण, तेस्रो चरणमा विद्यालय तथा वडा तहमा स्थलगत अनुगमन र छलफल, चौथो चरणमा तथ्याङ्क प्रशोधन तथा पाँचौँ चरणमा अन्तिम मस्यौदा तयार गरिनेछ । यसक्रममा विद्यालयहरूको सबल पक्ष, कमजोरी, अवसर र चुनौतीको विश्लेषण गरी वास्तविक आवश्यकता पहिचान गरिने बताइएको छ ।
उपमहानगरपालिकाले योजना निर्माणका लागि कार्यतालिका समेत तय गरेको छ । २०८२ माघ २९ गते योजना निर्माण समिति गठन गरिएको थियो भने २०८३ वैशाख १९ देखि २२ गतेसम्म सन्दर्भ सामग्री संकलन तथा अध्ययन गरिएको छ । वैशाख २३ गते सरोकारवालाहरूलाई प्रारम्भिक अभिमुखीकरण गरिने तथा वैशाख २४ देखि २७ गतेसम्म तथ्यांक संकलनका लागि प्रश्नावली, एफजीडी गाइड र चेकलिस्ट तयार गरिने कार्यतालिका छ । कार्यक्रममा बोल्दै कार्यवाहक मेयर बेघाले सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधार्न नगर शिक्षा योजना महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै पक्षको सुझाव समेटेर व्यवहारिक र प्रभावकारी योजना तयार गरिने प्रतिबद्धता जनाउनुभयो । धरान उपमहानगरपालिकाले अघि बढाएको यो तयारीले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार, व्यवस्थापन सुदृढीकरण तथा सरकारी लगानीको प्रभावकारी प्रतिफल सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया