काँकडभिट्टा (पानीट्यांकी) । भारतका पाँच राज्य भएका विधानसभा निर्वाचनको हालै सम्पन्न नतिजाले स्थापित राजनीतिक समीकरण पूरै बदलिएको छ । केरल राज्य, तमिलनाडुमा काँग्रेस र अभिनेताबाट नेता बनेका विजयको पार्टी टिविकेले बहुमत ल्याए पनि बाँकी रहेका पश्चिम बंगाल, आसाम र पुदुचेरीमा भारतीय जनता पार्टीले अत्यधिक बहुमत प्राप्त गरेको छ । विगत दुई दशकभन्दा लामो समयदेखि पश्चिम बंगालमा एकछत्र शासन गर्दै आएको ममता बनर्जी नेतृत्वको तृणमूल काँग्रेसले नराम्रो पराजय भोगेको छ । बंगालको राजनीतिमा यसलाई ठूलो राजनीतिक परिवर्तन मानिएको छ । भारतीय जनता पार्टीले यसअघिको निर्वाचनमा तीन सिट मात्र हासिल गरेको थियो । हाल उसले २०४ सिटमा विजय हासिल गरेको छ । बंगालको निर्वाचनले भारतको राष्ट्रिय राजनीतिमा भाजपाको बढ्दै गएको लोकप्रियता क्षेत्रीय दलहरूका लागि टाउको दुखाइको विषय बनेको छ । झण्डै तीन दशकसम्म ज्योति बसुको कम्युनिस्ट पार्टीले एकछत्र राज गरेको बंगालमा कम्युनिस्टहरूको वर्चस्व पूर्ण रूपमा धरासायी भएको छ । भारतमा यतिबेला पूरै देशबाटै कम्युनिस्टहरूको सफाया भएको छ । पश्चिम बंगालमा कुल २९४ विधानसभा सिट रहेको छ । भाजपा एक्लैले २०४ सिटमा विजय हासिल गरेर पहिलो पटक बंगालमा भाजपाको सरकार गठन गर्ने भएको छ । यस पटकको पश्चिम बंगालको निर्वाचनले भाजपालाई निर्णायक मोडमा पु¥याइदिएको छ । लामो समय सत्तामा रहेको तृणमूल काँग्रेसको हार लज्जास्पद देखिएको छ । यस पटकको निर्वाचनमा सीमावर्ती, आदिवासी र औद्योगिक क्षेत्रबाट भाजपालाई व्यापक समर्थन प्राप्त भएको थियो । जबकि तृणमूल काँग्रेसलाई सहरी क्षेत्र र केही गाउँलेहरूबाट मात्र समर्थन प्राप्त भएको थियो । आफ्नो लज्जास्पद हार पश्चात मुख्यमन्त्री ममता बनर्जीले मतगणना प्रक्रियामाथि गम्भीर आरोप लगाएकी छन् ।


उता भारतको तमिलनाडु राज्यमा रहेको २३४ सिटमा फिल्म अभिनेता विजयको पार्टी टिविकेले भारी बहुमत ल्याएको छ । त्यस राज्यमा बहुमतका लागि आवश्यक पर्ने ११८ सिटभन्दा टिविकेले उक्त आँकडा पार गरेपछि यसअघि सत्ताको बागडोर सञ्चालन गर्दै आएका द्रविड पार्टीको वर्चस्व समाप्त भएको छ । सबैभन्दा अचम्मको कुरा त के छ भने तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले आफ्नो सिट समेत बचाउन सकेनन् । तमिलनाडुका एमजीआर र जयललिता पछि पहिलो पटक फिल्मी व्यक्तित्व राज्यको राजनीतिमा हाबी भएका छन् । यसैगरी केरल राज्यमा दश वर्षपछि सत्ता परिवर्तनको स्पष्ट संकेत मिलेको छ । त्यहाँ काँग्रेस नेतृत्ववाला युनाइटेड डेमोक्रेटिक फ्रन्ट (युडिएफ) ले बहुमत पाएको छ । त्यहाँ लामो समयदेखि वामपन्थी एलडिएफले सत्तामा वर्चस्व जमाएको थियो । यद्यपि केरलामा काँग्रेस गठबन्धनका दलले ज्यादा संख्यामा जित हासिल गरे पनि सरकार बनाउन उसलाई बहुमत अपुग देखिन्छ । यसका लागि उसले इन्डियन युनियन मुस्लिम लिगसँग गठबन्धन गर्नैपर्ने देखिएको छ । उक्त राज्यमा यसअघि मन्त्री रहेका २१ जना मध्ये १३ जनाले निर्वाचनमा पराजय भोगेका छन् । यसैगरी आसाम राज्यमा भाजपाले लगातार तेस्रो पटक सरकार बनाउने भएको छ । आसाममा १२६ सिट विधानसभा सदस्य रहने प्रावधान छ । निर्वाचनमा भाजपा एक्लैले ८० सिटमा विजय प्राप्त गरेको छ । आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्मा नेतृत्वको सरकारले विकास, कल्याणकारी योजना, घुसपैठीहरूको मुद्दामा निर्णायक काम गरेकोलाई नै यस पटक मतदाताले भारतीय जनता पार्टीलाई पुनः बहुमत दिएका हुन् । पाँच राज्यमध्ये तीन राज्यमा भाजपाले शानदार जित हासिल गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै दललाई हिंसालाई अविलम्ब रूपमा समाप्त पार्न सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भाजपाको मुख्यालयमा पार्टीका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै त्यस्तो आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, पश्चिम बंगालका जनताले हिंसामुक्त राजनीतिको निर्वाचनबाट सन्देश दिएका छन् । उहाँले स्पष्ट रूपमा भन्नुभयो, प्रचण्ड जितको बाबजुद भाजपा बदलाको कारबाहीको सट्टा परिवर्तन र राज्य विकासमा जोड दिन्छ । उहाँले तृणमूल काँग्रेसकी मुख्यमन्त्री ममता बनर्जीको नाम नलिईकनै सबै दललाई विकास र उन्नतिका लागि सहयोगको आग्रह गर्नुभयो । अब कसले भोट दियो भन्दा पनि सबै मिलेर विकासका लागि काम गरौँ ।

