बालेन सरकारले सुकुम्बासी बस्तीमा डोजर लगाएसँगै मुलुकभरिका सुकुम्बासी त्रसित

धरान । काठमाण्डौका सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरेर हटाउने कार्य सुरु भएपछि देशभरका भूमिहीन तथा सुकुम्बासी समुदायमा त्रास फैलिएको छ । यही सन्दर्भमा धरानमा पनि सुकुम्बासीहरूले विरोध प्रदर्शन गर्दै सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन् । धरान(१ छाताचौकबाट सुरु भएको विरोध ¥याली सिंहदेवी र देशीलाइन हुँदै भानुचौक पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरूले संविधानले सुनिश्चित गरेको गास, बास र कपासको अधिकार वर्तमान सरकारले तानाशाही शैलीमा खोसेको आरोप लगाए । अझ उनीहरुले सुकुम्बासी बस्ती उठाएको आत्महत्या गर्नेसम्मको अवस्था
सरकारले सिर्जना गरेकोले हत्याको जिम्मा अहिलेको सरकारले लिनुपर्ने बताएका थिए ,कोणसभामा वक्ताहरूले सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर नागरिकलाई आतंकित बनाइएको, उठिबास गराइएको तथा राज्यले आफ्नो दायित्वबाट पन्छिएको आरोप लगाए । उनीहरूले यस्तो कार्य तत्काल रोक्न, भूमिहीन नागरिकलाई व्यवस्थित बसोबासको व्यवस्था गर्न र लालपूर्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

अखिल नेपाल सुकुम्बासी संघका प्रतिनिधि सुदर्शन श्रेष्ठले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर संविधान विपरीत कार्य गरेको बताउनुभयो । यो कार्यले नागरिकलाई आतंकित बनाएको बताउदै सुकुम्बासीलाई कमजोर नठान्न चेतावनी समेत दिनुभयो । त्यस्तै, नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय सचिव एवम् आन्दोलन परिचालन समितिका संयोजक सुवास राईले विकल्पविनाको जबर्जस्ती उठिबासको विरोधमा आन्दोलन गरिएको स्पष्ट पार्नुभयो । उहाँले जबसम्म भूमिहीनलाई लालपूर्जा र व्यवस्थित बसोबास सुनिश्चित हुँदैन, आन्दोलन जारी रहने चेतावनी दिनुभयो । प्रदर्शनका क्रममा सहभागीहरूले ‘मरे चिहान, बाँचे घर’, ‘विकल्पविनाको उठिबास बन्द गर’, ‘भूमिहीनलाई लालपूर्जा दे’ जस्ता नाराहरू लगाएका थिए । सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक रहेको सरोकारवालाहरूले बताउँदै आएका छन् । पछिल्ला घटनाक्रमले यस विषयमा सरकार र प्रभावित समुदायबीच संवाद र समाधानको आवश्यकता अझ टड्कारो बनाएको छ ।

तपाईको प्रतिक्रिया