धरानमा अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाडिङ प्रतियोगताको आयोजना हुने

धरान । कोरोना संक्रमण लगायत विविध कारणले सुस्ताएको प्याराग्लाइडिङ प्रतियोगिता यस वर्ष भने नयाँ ऊर्जा र तयारीसहित पुनः आयोजना हुने भएको छ । २०७२ सालमा राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न भएपछि लामो समयसम्म ठप्प जस्तै रहेको यो साहसिक खेल गतिविधि अब अन्तर्राष्ट्रिय स्तरमा फर्किन लागेको हो । धरानलाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न निजी क्षेत्रले वर्षौंदेखि प्याराग्लाइडिङ उडानलाई प्रवद्र्धन गर्दै आए पनि प्रतियोगितामूलक गतिविधि भने ११ वर्षदेखि रोकिएको थियो । यही शून्यतालाई अन्त्य गर्दै नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले यस वर्ष अन्तर्राष्ट्रिय स्तरको ‘प्याराग्लाइडिङ प्रिमियर लिग’ आयोजना गर्ने तयारी गरेको छ । प्रतियोगिता वैशाख २५ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।
धरान–४ छोटी मोरङ क्षेत्रबाट उडान भई धरान–१४ स्थित खत्रीधाराको क्षेत्रमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ । आयोजकका अनुसार प्रतियोगिताको मूल उद्देश्य धरानलाई साहसिक खेल पर्यटनको नक्सामा मजबुत रूपमा स्थापित गर्नु हो । प्याराग्लाइडिङ प्रतियोगिता मार्फत धरानको साहसिक खेल प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष भूपाल राई बताउँछन् ।

लिगअन्तर्गत अन्तर्राष्ट्रिय खुल्ला, खुल्ला पुरुष टिम, महिला, राष्ट्रिय पुरुष तथा राष्ट्रिय महिला गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, चीन, श्रीलंका, मलेसियालगायत युरोपेली मुलुकका खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । अझ रोचक पक्ष भने १८औँ एसियाली खेलकुदका पदक विजेता खेलाडीहरू समेत प्रतिस्पर्धामा उत्रिनेछन् । प्रतियोगिताका विजेताहरूलाई नगदसहित टूफी र मेडल प्रदान गरिनेछ । अन्तर्राष्ट्रिय खुल्ला विधामा प्रथम हुनेले १ लाख ५० हजार, द्वितीयले १ लाख र तृतीयले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । खुल्ला पुरुष टिमतर्फ क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार तोकिएको छ । महिला विधामा प्रथम, द्वितीय र तृतीयले क्रमशः ४० हजार, २५ हजार र १५ हजार रुपैयाँ पाउनेछन् । राष्ट्रियतर्फ पुरुष तथा महिला दुबै विधामा विजेताले ३० हजार, उपविजेताले २० हजार र तृतीय हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । संघका अनुसार प्रतियोगिताले साहसिक खेलमार्फत पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको छ । नेपालमा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ खेलको इतिहास चार दशकभन्दा पुरानो भए पनि व्यवस्थित लिग प्रणाली पहिलो पटक सुरु हुन लागेको हो । वि.सं. २०६४ माघ ४ गते राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत दर्ता भएको संघले प्रशिक्षण, प्रतियोगिता तथा पूर्वाधार विकासमा निरन्तर काम गर्दै आएको छ । यसअघि संघले ७ औँ, ८ औँ र ९ औँ
राष्ट्रिय खेलकुदमा सहभागिता जनाएको थियो भने २०७२ सालमा धरानमै राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेको थियो । विगतमा उडानका लागि उपयुक्त स्थान हुँदाहुँदै पनि अवतरण स्थलको अभावले प्रतियोगिताहरू प्रभावित हुँदै आएका थिए । यसपटक भने धरान उपमहानगरपालिका र वडा नम्बर १४ को पहलमा वन कार्यालयसँग समन्वय गरी खत्रीधारा क्षेत्रमा व्यवस्थित ल्याण्डिङ साइट निर्माण गरिएको छ । धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईका अनुसार यो पूर्वाधारले भविष्यमा नियमित प्याराग्लाइडिङ गतिविधि सञ्चालनका लागि पनि ढोका खोल्नेछ । अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालले प्याराग्लाइडिङमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ । १८औँ एसियाली खेलकुदमा नेपाली पुरुष टोलीले रजत पदक जित्दै दुई दशकपछि ऐतिहासिक उपलब्धि हात पारेको थियो । नयाँ लिगमार्फत खेलाडी उत्पादन, व्यावसायिकता विकास तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको उपस्थिति थप सुदृढ बनाउने लक्ष्य संघले लिएको छ । साहसिक खेल र पर्यटनको संगमका रूपमा यो प्रतियोगिता धरानका लागि नयाँ पहिचानको आधार बन्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया