बसन्तपुर । पर्यटकका लागि पकेट क्षेत्र मानिने तेह्रथुमको बसन्तपुरस्थित लालीगुराँस नगरपालिकाको चोत्लुङ पार्कमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । वैसाख १० गतेदेखि सुरु भएको लालीगुराँस महोत्सवका अवसरमा चोत्लुङ पार्कमा साहित्यकारहरूको छुट्टै साहित्यिक रौनक थियो । गुराँसको राजधानीको रूपमा रहेको तीनजुरे–मिल्के–जलजलेको प्रवेशद्वार बसन्तपुरको चोत्लुङ पार्कमा साहित्यिक स्रष्टाहरू प्रकृतिसँगै पौठेजोरी खेल्न मात्र नभएर आफ्ना सिर्जना वाचनका लागि जुर्मुराएका थिए ।

नेपाल र भारतका गरी झण्डै तीन दर्जन स्रष्टाहरूमध्ये भारतको सिक्किमकी कवि सन्ध्या सिङजागो सुब्बाले पहिलो कविता वाचन गरेर वाहवाही बटुल्नु भएको थियो । त्यसपछि अन्य स्रष्टाहरूले कविताको बाढी नै ल्याइदिए । गुराँस साहित्यिक गोष्ठीको ब्यानरमा भएको साहित्यिक कार्यक्रमका सबैका लागि आकर्षणको रूपमा रहनुभएको थियो चलचित्र निर्देशक एवं आख्यानकार उपेन्द्र सुब्बा । उहाँले समाजलाई गतिदिन र समृद्ध बनाउन वैचारिक जमघट र विमर्श गर्नु आवश्यक रहेको धारणा राख्नुभएको थियो । उहाँले साहित्यले समाजका सुन्दर पक्ष र कुरूप पक्ष दुवैलाई कलात्मक ढङ्गले प्रस्तुति गर्ने भएकोले यो हृदयको भाषा समेत भएको बताउनुभयो । सो अवसरमा लालीगुराँस नगरपालिकाका प्रमुख एवं लेखक (ऐतिहासिक दस्तावेज) अर्जुनबाबु मावुहाङले साहित्यका माध्यमबाट जलवायु परिवर्तन र त्यसको न्यूनिकरण गर्ने उद्देश्यले साहित्यिक कार्यक्रमको आयोजना गरिएको बताउनुभएको थियो ।
