धरान । सुनसरीको धरान स्थित एक क्याफेबाट अनलाइन जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख १४ गते राति
करिब १०ः३० बजे मण्डला क्याफे मा अनलाइन जुवा खेल भइरहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर बाट खटिएको संयुक्त टोलीले छापा मारेको हो । प्रहरीले क्याफेभित्र जुवा खेल्दै गरेका व्यक्तिहरूलाई रंगेहात फेला पारी उनीहरूको साथबाट विभिन्न कम्पनीका १५ थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ । पक्राउ पर्नेहरू सबै धरान उपमहानगरपालिकाका विभिन्न वडाका बासिन्दा हुन् ।

पक्राउ पर्नेमा हेमन राई (४६), योगेश लिम्बु (२७), मिलन लिम्बु (२९), शुसान्त घिमिरे (३१), कुमार तामाङ (४२), विवेक थापा (४०), सुजित साह (३३), अशोक लिम्बु (४१), भवानी दाहाल (३५) र प्रज्वल राई (३१) रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा
राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालमा अनलाइन जुवा कानुनी रूपमा निषेधित रहेको छ । पछिल्लो समय इन्टरनेटमार्फत हुने यस्ता गतिविधि बढ्दै गएकाले प्रहरीले निगरानी कडा बनाउँदै आएको छ ।
