घण्टाघरबाट हेर्दा

हुत्याइदिनुपर्छ
सुस्ला आमैले अस्तिका दिन कडै दिइछन् । सरकारले ल्याएको अध्यादेशमा राष्ट्रपति कागती बाजेले हलो अड्काइदिए पदबाटै हुत्याइदिनुपर्छ भनिछन् । बहुत ठीक भनिन् आमैले । झालेमाले, लाउरेस र खाउवादीले कागते बाजेलाई सडकबाट उठाएर शीतल निवासमा छिराएथे । बाजेले उनीहरूका गुण पनि चटक्कै बिर्सनु भएन । अबरदार सरकारले ल्याएका अध्यादेश पारित गर्लास् भनेर चेतावनी दिइराख्या छन् । बडो द्विविधामा पर्या छन् बाजे । मानो त घिल्लाहरूको नमक खाएको छ । सरकारले पठाएको नमानौ त आफ्नो पदै धरापमा पर्ने भएको छ । जिन्दगीमा पहिलो पटक यत्तिको ठूला ओहदामा पुग्या छ । हुत्याइदिए भने त इज्जत रहेन न फेरि यतिको पद पाइने । बरु सरकारका साथ सहयोग गरे एक दुई वर्ष शीतल निवासमा हल्लिन पाइने । कागते बाजेले पद जोगाउन, शीतल निवासमा हल्लिन, सलाम खानै भए पनि यतिबेला धमाधम अध्यादेशहरू खुइँखुई प्रमाणित गर्न थाल्या छन् । चतुर छन् । आखिर कागती बाजे न परे ।
स्वाँठहरु राजीनामा दिँदै भाग्दै
राजनीतिक नियुक्ति लिएर मजा गरिरहेका स्वाँठहरूको यतिबेला भागदौड मच्चिएको छ । त्यस्ता स्वाँठहरूको संख्या १५ सयभन्दा बढी छ रे । बालेन सरकारले ३० वर्षदेखिका त्यस्ता फोहोरी स्वाँठहरूलाई हटाउन अध्यादेश ल्याएपछि अधिकांश स्वाँठहरू आफ्ना पुराना मालिकहरूसँग गएर हारगुहार
गरिरहेका छन् । मालिकहरूको आफ्नै बिल्लीबाठ छ । विचाराहरू कुना पसेर बस्या छन् । आफैँ पासोमा परिने त्रासमा तिनका सुर बेसुर भएका छन् । स्वाँठहरूले विचौलियामार्फत भ्रष्टाचारकी कुलदेवी जुआर राणा, खप्रओ, छेपारे दहालहरूलाई करोडौँ बुझाएर राजनीतिक नियुक्ति लिएका थिए । जतिसुकै पापड बेले पनि आफुहरू हटाइने संकेत पाएपछि एकथरिले आफैँ भटाभट राजीनामा दिँदै कुले ठोक्न थालेछन् भने अर्काथरिले उठती पुठ्तीको धन्दालाई तीव्रता दिएका छन् रे । जे होस्, तीस वर्षदेखिको फोहोर अब भने सफा हुने भयो ।
अब काँग्रेस चूप बस्दैन रे

प्रतिनिधिसभाको निर्वाचनमा जनताले सर्वाङ्ग नाङ्गै बनाइदिएका लाउरेसका मुखिया गनगने थापा आच्या बाख्रे काजीलाई यतिबेला सानो खटपट र छटपट भा’छैन । कहिले हाम्लाई नि मिलाएर लैजाउ भनेर प्रधानमन्त्रीलाई हारगुहार गर्छन्, कहिले आफ्ना नन्दीभृंगीहरू मार्फत संसदमा थापाको अभाव खड्कियो भनेर सामाजिक सञ्जालमा पोष्ट गर्न लगाउँछन्, कहिले भन्छन् त कहिले के भन्छन् । हुँदा हुँदा अस्तिका दिन त अब काँग्रेस चुप लागेर बस्दैन भनेर उफ्रन्दै रै’छन् । चुप नलागे फुइँयाँ गर्छन् त ? कही गर्ने औकात हुनुप¥यो नि । पार्टी कब्जा गरौँला, जनताले ठूलो दल बनाइहाल्छन्, मिलीजुली सरकारको नेतृत्व गरौँला भनेर बाख्रे काजीले कम्ता ठूलो सपना देख्या थिएनन् । उडायो सपना सबै हुरीले भनेजस्तो भयो विचराको ।
सर्पनाथको गनगन
सर्पनाथ माने झल्लाझलुले अस्तिका दिन बडा गनगन गरे । सबै पूर्व प्रधानमन्त्रीहरूको खर्च सरकारले व्यहोर्नुपर्छ रे । सुन्दा पनि तिनको थुतुनोमा प्याक्क दिनुपर्ने । किन दिनु सबै पूर्व प्रधानमन्त्रीहरूलाई सरकारले खर्च ? अब सरकारमा बसेर अकूत आर्जन गरेका सबै पूर्व मन्त्रीहरूको सम्पत्ति जफत गर्नेतर्फ सरकार गइसक्या छ । सर्वोच्च अदालतले देशका सबै भिआइपीहरूको सुविधाहरू रोक्ने फैसला गरिसक्या छ । झलुचाहिँ एकोहोरो चिच्याएको चिच्याइ छन् खर्चपानी देउ सरकार भनेर । सर्प पाल्ने बहानामा ७२ करोड राज्यको ढुकुटीबाट ह्याम बनाएको सरकारलाई फिर्ता गर्नुपर्दैन ? गिलो आँची आउँदा र राजकानी सुन्निएको बहानामा विदेशमा राज्यको ढुकुटीबाट उपचार खर्च वापतको करोडौँ रुपैयाँ राज्यलाई दिनु पर्दैन ? अझ खर्च देउ सरकार रे । अबको सरकारले खर्च दिने हैन असुल्ने हो । कि कसो हौ ?
प्रचण्डाउको सपना बिग्रिए
पाप ढिलै भए पनि धुरीबाट कराउँछ भन्थे, हो रै’छ । अब हेरम न यतिका वर्षसम्म मौन रहेको सर्वोच्च अदालतले माओवादी जनयुद्धका अपराधीलाई कारबाही गर्न आदेश दिएसी प्रचण्डाउका सपना एकाएक बिग्रिन थाल्या छ । जनयुद्धमा हजारौँको इहलिला समाप्त गरी २० वर्षदेखि धनयुद्धमा होमिएका प्रचण्डाउलाई दोहोरो सजाय होला जस्तो । पहिलो इहलिला समाप्तको आरोप अनि दोस्रो चाहिँ क्यान्टोनमेन्टको माल, एनसेलको माल, सुनको माल कति हो कति । त्यसैले होला हिजोआज प्रचण्डाउ बर्बराइरहन्छन् । आफू माथि कारबाही हुन सुइँको पाएछन् क्यारे । अस्तिका दिन बालेन सरकार ढाल्छौँ । एकचोटी तीन करोड जनताले साथ दिनुस् । जंगल जान तयार हुनेछौँ भन्दै उफ्रन्दै थिए । अब प्रचण्डाउका कुरा भनेको पानीमा अपानवायु छोडेजस्तै हो । न यिन्ले बालेन सरकार ढाल्ने ल्याकत राख्छन् न जनताले यिन्लाई साथ दिन्छन् । न यी जंगल जान सक्छन् । वेफ्वाँकको ताइ न तुइको गफ हान्यो ।
फ्रि भीषा टिकटवाला बहु्लायो
फ्रि टिकटवाला, फ्रि भिसावाला माकुने बेला–बेलामा बहुलाउने गर्छन् । पैतीस वर्षदेखि सुंगुरले चन्द्रमा हेरेर बस्ने अनि अहिले नानाथरि फलाक्ने माकुनेको स्वभाव नै हो । अस्तिका दिन तिनले एउटा गुप्त स्थानमा गएर फलाक्दै थिए सुकुम्बासी बस्तीमा डोजर चलाउनु जनविरोधी कार्य हो रे । हैन कसले भन्यो माकुन्याउ जनविरोधी कार्य हो भनेर ? चुनावमा बहुमत ल्याउन हाम्लाई कसैले रोक्न सक्दैन भन्थे अन्तमा जनताले नराम्रोसँग लोपारीदिए । जनताले लोपारेसी गन्हाउने थुतुनो देखाउनै सरम लागेर कुन पसेका थिए । बालेनले सुकुम्बासी बस्तीमा डोजर चलाएसी आफन्तहरू विल्लीवाठ भएको देखेर कुर्लन थालिहाले । हैन हौ, घण्टाघरले नबुझको कुरा यी माकुने कहिल्यै ननसुध्रिने नै हुन् त ? हुन त विचरालाई भित्रभित्र औडाहा, डाहा भएको होला । बालेन सरकारले ललिता निवासका धुन्धुकारीहरूलाई अँठ्याउनै छ, पतञ्जली जग्गा घोटालाको छानबिन गर्दैछ, रिजाल टाँसीको जग्गाको छानबिन गर्दैछ । भोलि बोल्न नपाइने हो कि हैन अहिल्यै बालेर धित मारेका होलान् ।
दुई दिनमा देश कब्जा गर्ने रे
नानीदेखि लाग्या बानी आजीवन रहन्छ भन्थे हो रै’छ । जतिसुकै सुधार्न खोजे पनि सुध्रिए पो ? अब हेरम न झालेमालेका अध्यक्ष खप्रओलाई अस्तिका दिन ती भन्दै थिए नेकपा एमालेले दुई दिनमा देश कब्जा गर्न सक्छ रे । हैन हौ अब त पिण्ड खाने बेला भइसक्यो । अझ बतासे गफ गर्न बानी छुट्या छैन । बालेन सरकारले रातारात चाखुर्याएर लग्या बिर्सेछन् कि क्या हो ? हिरासतको सट्टामा झण्डै दुई हप्ता अस्पताल बस्न दिएर अदालतले अन्त्यमा तारिखमा छोडेको पनि बिर्सेछन् । हुन त त्यो उमेरमा पुग्दा जोकसैले पनि बिर्सने र भुलक्कड नै हुन्छन् । परिवारले यसो राम नाम जप्ने सल्लाह दिँदैनन् कि क्या हो ? खाली उटपट्याङका बतासे गफ गरेर किन जगत हँसाउनु ? यस्ता बतासे गफले अरूबाट सापटी लिएको मृगौलालाई पनि असर गर्ला । नन्दी, भृंगी, हुक्के, ढोके, बैठकेहरूले मरेको लासलाई जुम्राले छोडेर हिडेझैँ हिडिसक्या कुरा विचरालाई पत्तै रै’नछ ।
अन्तेमा
बालेन सरकारले सुकुम्बासीका घर टहरा डोजर लगाएर हटाउन थालेपछि हुकुमबासीहरूको अनुहार उदांगो भा’छ । पहाडमा सयौँ रोपनी जग्गा, पटक पटक मन्त्री भैसक्या, श्रीमती समेत सांसद भइसकेकी अशोक राई पनि सुकुम्बासी नै रै’छन् । बुद्धनगरमा आलिसान बिल्डिङ बनार स्कुल चलाएका राईले सुकुम्बासीहरूको बेइज्जतै गरे । जसपाका अध्यक्ष समेत रहेका राईजस्ता धेरै हुकुमबासीहरू नेपालमा सुकुम्बासी रै’छन् । कम्युनिष्ट धारबाट आएकाहरूले सरकारी होस् कि निजी होस् खाली जग्गा त देख्नै हुँदैन भन्थे हो रै’छ । आफुलाई सुकुम्बासी भन्ने कारमा दौड्ने, ठाउँठाउँमा घर जग्गा भा’का । हैन सुकुम्बासी भनेको जग्गा जमिन कहीँ कतै नभएका मात्र हुन्छ भन्थे । जे होस् नेपालका सुकुम्बासीहरूचाहिँ सम्पन्नै रै’छन् । जति ठूलो घर त्यति ठूलो सुकुम्बासी । जय होस् ।

तपाईको प्रतिक्रिया