धरान । विगत केही समययता राष्ट्रको गौरवको रूपमा रहेको नेपाली सेनाका बारेमा अनावश्यक र भ्रमपूर्ण सामग्रीहरू सञ्चारमाध्यममा सम्प्रेषण भएकोप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको भन्दै सबैमा अपिल गरेको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगीअड्डाबाट वैशाख ११ गते जारी अपिलमा भनिएको छ, विगत केही समयदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा नेपाली सेना तथा नेतृत्वलाई उल्लेख गरी प्रसारण भएका तथ्यहीन सूचना एवं अभिव्यक्तिप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ । अपिलमा भनिएको छ, यस्ता कपोलकल्पित सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्ने हुँदा त्यस्ता भ्रामक सामग्रीहरू प्रसारण नगर्न, नगराउनु हुन अनुरोध गरिन्छ । नेपाली सेना र सम्बन्धित निकायहरूले यस किसिमका उच्छृंखल तथा अराजक गतिविधिहरूको नियमित निगरानी गरिरहेको हुँदा त्यस्ता कार्य गर्ने व्यक्ति प्रचलित कानुनको दायरामा रहने व्यहोरा समेत स्मरण गराइन्छ । अपिलमा भनिएको छ, आम जनमानसमा यस किसिमका आधारहीन र द्वेषपूर्ण समाचार तथा टीका टिप्पणीहरूलाई विश्वास नगर्न अनुरोध गर्दै आधिकारिक सूचनाका लागि नेपाली सेनाबाट प्रकाशित प्रेस विज्ञप्ति, सामाजिक सञ्जाल र निर्देशनालयसँग समन्वय गर्नु हुन अनुरोध गरिन्छ ।
