धरान । लिम्बु पत्रकार संघ सुनसरीले समुदायमा आधारित सञ्चारकर्मीहरूको योगदानको कदर गर्दै १० लाख रुपैयाँभन्दा बढी राशिको अक्षय कोष स्थापना गरेको छ । “एक सुका अभियान” मार्फत संकलित सानो–सानो सहयोगले ठूलो आकार लिँदै १० लाख ७३ हजार रुपैयाँको अक्षय कोष सार्वजनिक गरिएको हो । किरात याक्थुङ चुम्लुङ सुनसरीसँगको सहकार्यमा आयोजित विशेष कार्यक्रममा कोषको औपचारिक घोषणा गरिएको संघले जनाएको छ । लिम्बु समुदायको भाषा, संस्कार र पहिचानको संरक्षणका लागि सक्रिय यस संस्थाले अब पत्रकारिता मार्फत यस्ता विषय उजागर गर्ने सञ्चारकर्मीलाई सम्मान गर्ने योजना अघि सारेको हो । संघका अनुसार कोषबाट प्राप्त हुने ब्याज रकमले हरेक वर्ष लिम्बु तथा गैर(लिम्बु दुवै समुदायका पत्रकारहरूलाई उनीहरूको योगदानका आधारमा पुरस्कृत गरिनेछ । यसले पत्रकारितामा समावेशी सोचको प्रवद्र्धन गर्नुका साथै पहिचानका मुद्दाहरूलाई अझ सशक्त रूपमा उठाउन टेवा पुग्ने विश्वास गरिएको छ । संघका अध्यक्ष स्वर्णिमहाङ फोम्बोले यो कोषलाई केवल आर्थिक संकलन नभई समुदायको विश्वास र समर्पणको प्रतिफलका रूपमा व्याख्या गर्नुभयो । एक सुकाबाट सुरु भएको अभियान आज १० लाख अक्षय कोषमा जम्ममा बताउदै उहाँले यसले पत्रकारहरूको श्रम र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाएको जानकारी दिनुभयो ।

संघकी सचिव टिना चोङवाङले कोषको पारदर्शी र प्रभावकारी उपयोगमा जोड दिँदै सम्मानका लागि स्पष्ट मापदण्ड तयार गरिने जानकारी दिनुभयो । उहाँका अनुसार खोजमूलक र पहिचानमुखी पत्रकारितालाई प्राथमिकता दिइनेछ र छनोट प्रक्रियालाई व्यवस्थित बनाउन समिति गठन गरिनेछ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले यस पहललाई सञ्चार क्षेत्रका लागि प्रेरणादायी कदमको रूपमा व्याख्या गर्दै यस्ता अक्षय कोषहरूले पत्रकारहरूको सम्मान र व्यावसायिकता अभिवृद्धिमा दीर्घकालीन योगदान दिने बताउनुभयो । उहाँले अहिले सरकारले सरकारी विज्ञानपन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय गरेर प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरेको बताउदै यो सरकार तानाशाहीतर्फ उन्मुख भएको बताउनुभयो । जति सरकार तानाशाही बन्छ त्यति सरकारको आयु छोटो हुने उहाँको टिप्पणी थियो । यस्तै, धरान–१५ का वडाध्यक्ष नरेश इवारमले स्थानीय सरकार यस्ता सामाजिक तथा सांस्कृतिक अभियानमा सधैं सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै कोषले खोजमूलक पत्रकारितालाई प्रोत्साहन दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रेस स्वतन्त्रतालाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले केन्द्रीकृत सत्ता सञ्चालनलाई विकेन्द्रिकृत बनाएर जनताले सहज रुपमा सेवा लिन पाएको स्पष्ट पार्नुभयो । लिम्बु पत्रकार संघले आगामी वार्षिकोत्सवदेखि यस कोषबाट पत्रकारहरूलाई सम्मान गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक मापदण्ड चाँडै सार्वजनिक गरिने संघले जनाएको छ । सो अवसरमा अक्षयकोषमा सहयोग गर्ने तथा लिम्बु पत्रकार संघ सुनसरीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नेलाई सम्मान समेत गरिएको थियो । अक्षयकोष निर्माणले लिम्बु समुदायको सञ्चारकर्मीको वृत्ति विकासमा सहयोग त पुग्छ नै गैर लिम्बु समुदायका सञ्चारकर्मीहरुले समेत लिम्बु समुदायको भाषा, लिपी, संस्कार र सस्कृतिको विषयमा उजागर गर्ने भएकोले पुस्तौदेखिको परम्परागत संस्कार सँस्कृति जीवित रहने अपेक्षा राखिएको छ ।
