धरान । कोशी प्रदेशका विभिन्न जिल्लामा एकैदिन भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दर्जनौँ व्यक्ति घाइते भएका छन् । प्रहरीका अनुसार अधिकांश दुर्घटनामा घाइतेहरूको अवस्था सामान्य रहेको छ भने सवारी साधनमा क्षति पुगेको छ । संखुवासभाको खाँदबारी क्षेत्रमा अटो अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाइते भएका छन् । कुकुरलाई जोगाउने क्रममा अटो दुर्घटनामा परेको जनाइएको छ । त्यस्तै, चैनपुरमा भएको अर्को दुर्घटनामा गाडी पल्टिँदा ७ जना घाइते भएका छन् । मोरङ जिल्लामा मात्र विभिन्न स्थानमा भएका दुर्घटनामा धेरै व्यक्ति घाइते भएका छन ्। विराटनगर, सुन्दरहरैँचा, ग्रामथानलगायत क्षेत्रमा कार, ट्रक, मोटरसाइकल र स्कुटरबीच ठक्कर हुँदा कम्तीमा ७ जना घाइते भएका छन् । अधिकांश दुर्घटनाको कारण तीव्र गति र चालकको लापरवाही देखिएको प्रहरीले जनाएको छ ।

सुनसरीमा पनि सवारी दुर्घटनाको संख्या उच्च देखिएको छ । इनरुवा, धरान, रामधुनी, देवानगञ्ज लगायत क्षेत्रमा मोटरसाइकल, सिटी सफारी र अटोबीच ठक्कर हुँदा १० भन्दा बढी व्यक्ति घाइते भएका छन्। केही घटनामा पैदलयात्रीसमेत घाइते भएका छन् भने एक बालकलाई ठक्कर दिएर मोटरसाइकल चालक फरार रहेका छन ्। झापामा मोटरसाइकल एकआपसमा ठोक्किँदा र अन्य दुर्घटनामा गरी कम्तीमा ९ जना घाइते भएका छन् । केही घटनामा मापसे (मद्यपान गरी सवारी चलाउने) कारण देखिएको प्रहरीले जनाएको छ । इलामको माइजोगमाई क्षेत्रमा ब्रेक फेल भई ट्रक सडकबाट तल खस्दा चालक घाइते भएका छन् भने ताप्लेजुङमा बोलेरो गाडी पल्टिँदा ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार अधिकांश दुर्घटनामा चालकले तीव्र गति, लापरवाही, सडक पार गर्ने क्रममा असावधानी तथा सवारी नियन्त्रण गुमाउँदा घटना भएका हुन् । धेरैजसो घाइतेलाई स्थानीय अस्पतालमा उपचारपछि केहीलाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ । दुर्घटनापछि अधिकांश सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ भने केही घटनामा चालक
फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले सवारी चालकहरूलाई गति नियन्त्रणमा राख्न, मापसे नगर्न र ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ ।
