सुनसरीमा दुई किशोर प्रतिबन्धित औषधीसहित पक्राउ

धरान । सुनसरीको इनरुवा नगरपालिका–४ बसचौकस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीले प्रतिबन्धित औषधीसहित दुई किशोरलाई नियन्त्रणमा लिएको छ ।
यही वैशाख १३ गते दिउँसो करिब ४ः०० बजे अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ पैदल हिँडिरहेका दुई जनालाई शंका लागी चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा मोरङको पथरी शनिश्चरे नगरपालिका–६ बस्ने १७ वर्षीय सरोज परियारको साथबाट ट्रामाडोल ६०६ क्याप्सुल र सोही स्थानका १७ वर्षीय सुमन यादव (राजा) को साथबाट नाइट्राजेपाम २० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएका औषधी नेपालमा प्रतिबन्धित सूचिमा पर्ने भएकाले दुवैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया