धरान । धरानस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानको आंगिकक क्याम्पस पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस यतिबेला जीर्ण पूर्वाधार, अपुग जनशक्ति र पुरानो संरचनागत प्रणालीका कारण गम्भीर चुनौतीसँग जुधिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलले क्याम्पसको स्थलगत अवलोकन गरेपछि क्याम्पसको यथार्थ अवस्था सार्वजनिक भएको हो । सो क्रममा क्याम्पस प्रमुख काजीराम कार्कीले जनशक्ति अभावलाई सबैभन्दा ठूलो समस्या औंल्याउँदै क्याम्पसमा एक जना पनि पूर्ण प्राध्यापक नरहेको र सीमित उप–प्राध्यापक तथा सहायक प्राध्यापककै भरमा शिक्षण सञ्चालन भइरहेको जानकारी दिनुभयो । अत्यधिक शिक्षण भारका कारण अनुसन्धान गतिविधि समेत प्रभावित भएको उहाँले बताउनुभयो । स्थापनाकालदेखि संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षण नहुँदा क्याम्पस पुरानै संरचनामा सञ्चालन भइरहेको, प्रशासन प्रविधिमैत्री बन्न नसकेको र दक्ष आईटी जनशक्तिको अभावले काममा असर परेको समेत उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार ४४ वर्ष पुराना भवन जीर्ण अवस्थामा पुगेका छन् भने प्रयोगशाला उपकरण र पुस्तकालय पनि पर्याप्त छैनन्, जसले समग्र शैक्षिक वातावरण कमजोर बनाएको छ ।

यी समस्याको समाधानका लागि क्याम्पसले करिब ८५ करोड रुपैयाँको २० वर्षे गुरुयोजना प्रस्ताव गरेको छ । यसमा एकेडेमिक ब्लक, छात्रावास, आवासीय भवन, कृषि अनुसन्धान केन्द्र, खानेपानी तथा आईटी पूर्वाधार विकासका कार्यक्रम समेटिएका छन् । साथै, मेकानिकल तथा इनोभेसन ल्याब निर्माणका लागि छुट्टै बजेट आवश्यक रहेको जनाएको छ । क्याम्पस प्रमुख कार्कीले बजेट निकासाका लागि सम्बन्धित पक्षबीचको हानाथापले कलेजको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको मन्त्री समक्ष स्पष्ट पार्नुभयो । उहाँले मन्त्री समक्ष क्याम्पसले शिक्षक(कर्मचारी रोटेसन, कार्यसम्पादनमा आधारित पुरस्कार, दण्ड प्रणाली र छरितो परीक्षा प्रणाली लागू गर्नुपर्ने प्रस्ताव पनि अघि सार्नुभयोे । अवलोकनपछि मन्त्री पोख्रेलले वित्तीय विवरण अध्ययन गरी विश्वविद्यालयसँग समन्वय गर्ने बताउनुभएको छ । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको सुधार समग्र प्राविधिक शिक्षाको गुणस्तर सुधारसँग जोडिएको विषय भएकाले यस क्याम्पसको सुधारकालागि मन्त्रालयले प्राथमिकतामा राख्ने आश्वासन दिनुभएको थियो ।
