दमक । कोशी प्रदेशको झापा जिल्लाको गौरादहमा भारतको आर्थिक सहयोगमा जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ । गौरादह नगरपालिका वडा नं. १ स्थित जनता माध्यमिक विद्यालय भवन निर्माणका लागि वैशाख १० गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव एवं काउन्सलर गीताञ्जली वैंडन र गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।
उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत भारत सरकारको आर्थिक सहयोग करिब नेरु ५८ करोड रुपैयाँमा विद्यालय भवन निर्माण हुने भएको हो । अत्याधुनिक सुविधा सम्पन्न निर्माण हुने भवन तीन तलाको र कक्षा कोठा, छात्रावासका लागि छुट्टाछुट्टै बाथरुम, मिटिङ हल, शिक्षक–शिक्षिका कक्ष, प्रधानाध्यापकको कक्ष, पुस्तकालय लगायतका संरचना रहने भएको छ । उक्त परियोजनाको कार्यान्वयन गौरादह नगरपालिकामार्फत हुने भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


सो अवसरमा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भन्नुभयो, भारतीय सहयोगमा विद्यालय भवन निर्माण हुन लागेकोमा अत्यन्तै खुशी लागेको छ । सुविधा सम्पन्न स्थानमा भए पनि विद्यालयको पुरानो भवनमा विद्यार्थीहरूले जोखिमपूर्ण अध्ययन गर्दै आएका थिए । नयाँ भवन निर्माण भएपछि अब जोखिमरहित भएपछि विद्यार्थीहरूले निर्धक्क अध्ययन कार्यलाई जारी राख्ने भएका छन् । यसले विद्यार्थीहरूको सिकाइको वातावरण सहज हुने मुख्यमन्त्री कार्कीको विश्वास थियो । उहाँले भारत सरकारले उच्च प्राथमिकता रहेका नेपालका ७७ वटै जिल्लामा विद्यालय भवन, स्वास्थ्य चौकी, खानेपानीका योजना, सडक निर्माण, पुलपुलेसा निर्माण लगायतका कार्यमा निरन्तर सहयोग पु¥याउँदै आएकोप्रति भारत सरकारको प्रशंसा गर्नुभएको थियो । शिलान्यास समारोहमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय बासिन्दा, विद्यालयका शिक्षक–शिक्षिका, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ताहरू, नेपाल सरकारका कर्मचारीहरूको उपस्थिति रहेको थियो । सन् २००३ यता भारत सरकारले नेपालमा सयौं यस्ता परियोजनाहरूको निर्माण सम्पन्न गरिसकेको छ । कैयौं आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् भने कैयौं आयोजनाहरूमा सहमति हस्ताक्षर भएका छन् । दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, अत्यन्तै निकटको छिमेकीको रूपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाका कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोग रहनेछ । यसैबीच शुक्रबार भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन इलाम नगरपालिका वडा नं. ७ स्थित इलाम अस्पतालको इमरजेन्सी ब्लक निर्माणको क्रममा गीताञ्जली वैंडन र इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले संयुक्त रूपमा वैशाख ११ गते शिलान्यास गर्नुभयो । भारत सरकारको ९४ लाख रुपैयाँमा उक्त इमरजेन्सी ब्लकको निर्माण हुने भएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत नै निर्माण हुने उक्त ब्लकको कार्यान्वयन इलाम नगरपालिकाले गर्ने भएको छ ।




