आयल निगमका कर्मचारीहरूको सेटिङले साना व्यवसायी मर्कामा : विराटनगर आयल निगमद्वारा मूल्य वृद्धिस“गै कोटा कटौतीका नाममा ठूला व्यवसायीलाई पोस्ने धन्दा

विराटनगर । नेपाल आयल निगमले वैशाख ३ गतेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा
भारी वृद्धि गरेसँगै निगमको कोशी प्रदेश स्तरीय कार्यालय विराटनगरले कोटा कटौतीको नाममा ठूला व्यवसायी पोस्ने धन्दा नै सञ्चालन गरेको छ ।
इटहरीका एक पेट्रोलियम व्यवसायीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने मूल्य वृद्धि भएपछि साना व्यवसायीहरू मारमा परेका छन् । गत वर्षको चालु महिनालाई आधार बनाएर नेपाल आयल निगमले कोटा निर्धारण गरेको हुन्छ । हाल निगमले गत वर्षको चालु महिनाको खपतमा २० प्रतिशत कोटा कटौती गरेको भए पनि ठूला व्यवसायीको नभएर साना व्यवसायीको मात्र भएको उनले सुनाए ।
इनरुवा, सुनसरीका अर्का एक व्यवसायीले भने साना व्यवसायीले दैनिक १ हजार ५ सयदेखि २ हजार लिटर पेट्रोल, सोही अनुपातमा डिजेल बिक्री गर्दै आएकोमा हाल उक्त
परिणाम कटौती गरेर ५ सयदेखि १ हजार लिटरसम्म मात्र उपलब्ध गराउँदै आएको छ । यसले दैनिक खर्च धान्न समेत नसकिने उनको भनाइ छ । धरानका अर्का व्यवसायी भन्छन् निगमले हाम्रो कमिशन बढाउँदैन तर हामीले बढी मूल्यमा खरिद गर्नुपर्छ । हामीले एउटा निश्चित ठाउँमा रेटलाई कन्फर्म गरेपछि त्यो रेटभन्दा माथि जतिसुकै बढे पनि कमिशन बढ्दैन । हिजो १३५ रुपैयाँ खरिद गरेको अब २३२ मा बिक्री २३० भयो तर कमिशनचाहिँ १३०–१३५ बराबरकै हुन्छ । हामीले फिक्समा कमिशन पाउने हो । मूल्य बढ्दैमा कमिशन बढी हुँदैन । उनले भने अहिलेसम्म पब्लिकलाई मूल्य बढे पनि सहजै छ तर हामीले पाउने तेल मागभन्दा केही कटौती गरेर दिएको छ । आयल निगम भन्छ तपाईँको २० प्रतिशत कटौती गरेको हो । यो प्रावधानले कुनै पनि व्यवसायीको कोटा कटौती गर्दा उसलाई अप्ठेरो परेको छ । १२ हजार बेच्नेलाई ८ हजार दिएर पठाउँछ । कसैलाई ४ हजार दिएर पठाउँछन् । यसैगरी अर्का वसायीको आरोप छ हाल अनलाइन सिस्टमबाट तेल खरिद प्रक्रिया भइरहेको छ । तर त्यसमा पनि नेपाल आयल निगमका कर्मचारीहरूको मिलीभगतमा ठूला भनाउँदा व्यवसायीहरूलाई नै पोस्ने काम भएको छ । उता पेट्रोलियम डिलर एसोसिएसन कोशीका अध्यक्ष दुर्गाबहादुर बस्नेतलाई हाल तेल सहज ढंगले पाइरहनु भएको छ त भन्ने सवालमा उहाँले भन्नुभयो अहिले तेल सहज ढंगले आएको पनि छैन । अहिले अन्तर्राष्ट्रिय परिस्थितिले पनि त्यसो भएको हुन सक्छ । अहिले सहज ढंगले छ भन्न पनि गाह्रो छ । अप्रत्याशित रूपमा तेलको मूल्य बढाइएको छ । भारत सरकारले पनि अहिले तेलको भाउ बढाएको छैन, निकट दिनमा चुनाव छ । चुनावभन्दा अगाडि बढाउँदा चुनावमा असर पर्छ । नबढाउँदा देशको अर्थतन्त्रमा प्रभाव परेको छ । तर भारतमा एउटा कारण के छ भने ६० प्रतिशत भारत आफ्नै उत्पादनमा आत्मनिर्भर छ भने ४० प्रतिशत मात्र बाहिरबाट आयात गर्छ । ४० प्रतिशतमा पनि उसले कर छुट गराएर आयात गरिरहेको छ । तर नेपालमा भारतबाट आउने तेलमा १० थरी कर थोपरेको छ । जसको कारण यहाँ महँगो भएको छ । हाल विगतको डाटा हेरेर २० प्रतिशत कटौती गरेर तेल दिइरहेको छ ।

यसै सम्बन्धमा नेपाल आयल निगम विराटनगरका कार्यालय प्रमुख पुस्कर कार्कीसँग सम्पर्क राख्दा सम्पर्क हुन सकेन । यहाँ स्मरणीय कुरा के छ भने नेपाल आयल निगमले वैशाख २ गते विज्ञप्ति प्रकाशित गरी मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धिलाई मूल्य वृद्धिको कारण मानेको छ । उसले युद्धका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य वृद्धि भई इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य आफैं समायोजन हुन नसकेको पनि जनाएको छ । पेट्रोलियम पदार्थको लागत मूल्य बढी र बिक्री मूल्य कम भएको कारण मूल्य समायोजन गर्दा समेत पेट्रोलमा २.३५, डिजेलमा प्रतिलिटर ८७.९९, मट्टीतेलमा ३६.७० र एलपी ग्यासमा प्रति सिलिण्डर ३३१.२५ घाटा नै रहेको र पाक्षिक रूपमा ७ अर्ब ८१ करोड ६१ लाख घाटा रहेको जनाएको छ । उसले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम सञ्चालक समितिको निर्णय बमोजिम वैशाख ३ गतेदेखि लागू हुने गरी साविकको खुद्रा मूल्य डिजेल, मट्टीतेलमा ३० रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ ५ रुपैयाँले वृद्धि गरेको भए पनि अझ पनि डिजेलमा ९९.१६ रुपैयाँ घाटा रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया