गृहमन्त्रीलाई बर्खास्त गर्न माग

धरान । हतियार तस्कर दीपक भट्टसँगको कनेक्सन देखिएपछि जेन्जी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई पदबाट बर्खास्त गरी कारबाही गर्न माग गरेको छ । जेन्जी मुभमेन्ट नेपालले आइतबार एक विज्ञप्ति प्रकाशित गरी गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूलाई लिएर हामी सरकारसँग कडा माग गर्दछौं, उहाँलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न र निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरिएको छ । जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय साहले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ पदमै बसेर छानबिन गर्नु सम्भव छैन । त्यो स्पष्ट ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ हो, जसले न्याय प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाउँछ । मन्त्री पदको ओहदामा रहेर आफ्नै विरुद्ध छानबिन हुन सक्दैन, यो आधारभूत नैतिकता र कानुनी सिद्धान्तविरुद्ध छ । विज्ञप्तीमा प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारलाई स्पष्ट सन्देशमा भनिएको छ क्याबिनेटमा कसलाई लैजाने भन्ने निर्णय गम्भीर राजनीतिक र नैतिक निर्णय हो । हचुवाको भरमा मन्त्री नियुक्ति गर्ने, फेरि हटाउने कच्चा र अमर्यादित खेल अब अस्वीकार्य छ । जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउनै पर्छ ।

यो कुनै साधारण सरकार होइन । यो ७६ जना सहिदहरूको रक्त बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व हो । जनताको त्याग र बलिदानमाथि सस्तो राजनीतिमा गर्न अधिकार कसैलाई छैन । सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा कुनै किन्तु–परन्तु, सम्झौता वा ढिलासुस्ती स्वीकार्य हुन सक्दैन । विज्ञप्तीको अन्त्यमा भनिएको छ हामी फेरि दोहोर्याउँछौं न्याय प्रक्रिया स्वतन्त्र, निष्पक्ष, दबाबमुक्त हुनुपर्छ । दोषी जोकोही भए पनि कानुनको कठघरामा उभिनैपर्छ । पद, शक्ति वा राजनीतिक संरक्षणले कसैलाई पनि उन्मुक्ति दिन सकिँदैन । जनताको आशा र सहिदहरूको सपनासँग खेलबाड गर्न पाइँदैन ।

तपाईको प्रतिक्रिया