धरान । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंको राष्ट्रिय आविष्कार केन्द्र बीच स्वास्थ्य सेवा, शिक्षा तथा अनुसन्धानमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित समझदारीपत्र Mou मा हस्ताक्षर भएको छ । २०८३ वैशाख २ गते (१५ अप्रिल, २०२६) काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद र आविष्कार केन्द्रका तर्फबाट महाप्रबन्धक संजय झाले सम्झौतापत्रमा हस्ताक्षर्र गर्नुभएको थियो । कार्यक्रममा साक्षीका रूपमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठ र आविष्कार केन्द्रका तर्फबाट उमेश जङ्ग राई सहभागी रहनु भएको थियो । प्रतिष्ठानले आफ्नो दीर्घकालीन नीतिअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूसँग सहकार्य विस्तार गर्दै आएको सन्दर्भमा यो सहकार्यलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यस सम्झौता मार्फत स्वास्थ्य सेवाको प्रवाहलाई अझ प्रभावकारी, सुदृढ र अवरोधरहित बनाउने लक्ष्य राखिएको छ । समझदारी अनुसार राष्ट्रिय आविष्कार केन्द्रले प्रतिष्ठानमा प्रयोग भइरहेका सम्पूर्ण बायोमेडिकल उपकरणहरूको नियमित सुपरिवेक्षण गर्नेछ । यसका साथै दैनिक आधारभूत मर्मत, केबल, सेन्सर तथा अन्य एसेसरिजहरूको मर्मत वा प्रतिस्थापन, मेकानिकल तथा इलेक्ट्रोनिक पार्टपुर्जाहरूको मर्मत, पावर सप्लाई व्यवस्थापनलगायतका प्राविधिक कार्यहरू पनि केन्द्रले जिम्मेवारीपूर्वक गर्नेछ ।
हालसम्म उपकरण बिग्रँदा बाह्य विशेषज्ञको प्रतीक्षा गर्नुपर्ने बाध्यता र त्यसका कारण सेवा प्रवाहमा हुने ढिलाइ स्वास्थ्य संस्थाहरूको प्रमुख चुनौती रहँदै आएको छ । तर, आविष्कार केन्द्रसँगको सहकार्यपछि यस्ता समस्यामा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ । उपकरणहरूको नियमित मर्मत, शीघ्र समाधान र निरन्तर उपलब्धताले सेवा प्रवाहलाई अझ सहज बनाउने विश्वास लिइएको छ ।


यस सहकार्यले बिरामी तथा सेवाग्राहीलाई बिना कुनै अवरोध अझ गुणस्तरीय, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ । साथै, स्वास्थ्य क्षेत्रमा स्वदेशी प्रविधि र दक्षताको प्रयोग बढ्दै जाने विश्वास पनि व्यक्त गरिएको छ । प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठका अनुसार यस प्रकारको सहकार्यले स्वास्थ्य सेवामा मात्र होइन, अनुसन्धान र प्राविधिक क्षमताको विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउनेछ । यसैबीच प्रतिष्ठान र काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठान बीच समेत आपसी सहयोग तथा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । वैशाख २ गते नै काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठ र तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइतले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । साक्षीका रूपमा अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद तथा डा. श्रृजना अधिकारी सहभागी रहनु भएको थियो । समझदारी अनुसार दुवै संस्थाबीच शिक्षक तथा विद्यार्थी आदानप्रदान, संयुक्त आँखा स्वास्थ्य शिविर र सर्जिकल क्याम्प सञ्चालन, विशेषज्ञ सेवा विस्तार तथा आँखा उपचारसम्बन्धी संयुक्त अध्ययन–अनुसन्धान गरिनेछ ।
