उदयपुर । उदयपुरको बेलका नगर क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित उदयपुर विकास समितिले ‘कोशी रिभर पार्क’देखि ‘पर्यटन विश्वविद्यालय स्थापना’सम्मका दीर्घकालीन योजना सार्वजनिक गरेको छ । बेलका पर्यटन महोत्सवको समापन कार्यक्रममा आइतबार प्रस्तुत गरिएको उक्त योजनामा छोटो, मध्यम र दीर्घकालीन रणनीति समेटिएको छ । समितिका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका पूर्वप्रमुख वलदेव चौधरीले बेलकाको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई केन्द्रमा राख्दै बृहत् पर्यटन विकास परियोजना अघि सारिएको जानकारी दिनुभयो । वैसाख २ देखि ६ गतेम्म आयोजना गरिएको पर्यटन महोत्सवमा यस्तो परियोजना अगाडि सारिएको हो ।

छोटो अवधिका (२ वर्ष) योजनाअन्तर्गत सरसफाइ संरचना निर्माण, होमस्टे प्रवद्र्धन, महोत्सव आयोजना तथा साहसिक खेल प्रतियोगिता सञ्चालन गरिनेछ, जसका लागि १ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । मध्यम अवधि (३–५ वर्ष) मा साहसिक तथा धार्मिक पर्यटन प्रवद्र्धन, अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार र ब्राण्डिङमा जोड दिइनेछ, जसका लागि २ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । यस्तै, दीर्घकालीन (१० वर्ष) योजनाअन्तर्गत ठूला रिसोर्ट, इको पार्क, अन्तर्राष्ट्रिय पर्यटन केन्द्र तथा पर्यटन विश्वविद्यालय स्थापना गर्ने लक्ष्य राखिएको छ । यसका लागि १ अर्ब २५ करोड रुपैयाँ बजेट अनुमान गरिएको छ । महोत्सवमा साहसिक पर्यटनको प्रवद्र्धनका लागि सप्तकोशी नदीमा ¥याफ्टिङ, आकाशमा प्याराग्लाइडिङ प्रदर्शन तथा विभिन्न क्षेत्रमा साइक्लिङ प्रतियोगिता आयोजना गरिएको थियो । साइक्लिङतर्फ निमा शेर्पा प्रथम, मिलन परियार द्वितीय, उत्सव मग्राती तृतीय र सबिन कट्वाल सान्त्वना स्थान हासिल गरेका छन् । ‘जल, जमिन र आकाशमा पर्यटन’ भन्ने नारासहित आयोजित महोत्सवमा बेलकाका ३० भन्दा बढी पर्यटकीय स्थलको प्रचार–प्रसार गरिएको थियो । स्थानीय पर्यटनकर्मीका अनुसार कोशी नदीमा आधारित साहसिक खेल, जंगल सफारी तथा चम्पाकोटबाट सूर्योदय–सूर्यास्त अवलोकन बेलकाका प्रमुख आकर्षणका रूपमा अघि सारिएका छन् । सप्ताहव्यापी महोत्सव बेलका होटल तथा पर्यटन व्यवसायी संघ, उदयपुर विकास समिति र बेलका नगरपालिकाको पर्यटन समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
