धरान । सुनसरीको धरान उपमहानगरभित्र रहेका शनिदेवका दुई प्रमुख मन्दिरमध्ये धरान(१४ स्थित दुईधारे अगाडिको शनिदेव मन्दिर ऐतिहासिक रूपमा पुरानो भए पनि प्रचारप्रसार र पार्किङ स्थलको अभावका कारण ओझेलमा परेको छ । धरान १४ विजयपुरमा रहेको शनिदेवको मन्दिर धरान ८ तीन कुनेमा रहेको शनिदेव मन्दिरभन्दा पुरनाो रहेको उपलब्ध ऐतिहासिक तथ्यले स्पष्ट पारेको छ । उपलब्ध स्थानीय स्रोत तथा समाचार विवरणअनुसार उक्त मन्दिर करिब एक शताब्दीभन्दा बढी पुरानो रहेको भएपनि यो मन्दिर प्रचारप्रसार र पाकिङ स्थलको अभावका कारण ओझेलमा परेको हो । धरान(१४ मा अवस्थित शनिदेव मन्दिरको निर्माण करिब १०६ वर्षअघि भएको उल्लेख पाइन्छ । यस आधारमा यसको स्थापना वि.सं. १९७० तिर (करिब सन् १९१३(१९१५ आसपास) भएको अनुमान गरिएको छ । यद्यपि ठ्याक्कै निर्माण वर्षबारे आधिकारिक अभिलेख भने सार्वजनिक रूपमा स्पष्ट भेटिएको छैन । शुरुमा खुल्ला आकाशमुनि भएको यो मन्दिरको घेराबारा र छाना समेत स्थानीयले लगाएको स्थानीयहरुले बताएका छन् । धरान ७ का स्थानीय बासुदेव घिमिरेले धरान ८ तीनकुनेमा रहेको शनिदेव मन्दिरभन्दा धरान १४ मा रहेको शनिदेव मन्दिर पुरानो भएको दाबी गर्नुहुन्छ । उहाँले खुल्ला आकाशमुनी रहेको यो मन्दिरको छाना निर्माणमा आफूले सहयोग गरेको बताउनुभयो् ।

यता धरान–८ तीनकुनेमा रहेको शनिदेव मन्दिर भने पछि स्थापना तथा विस्तार गरिएको स्थानीयका भनाई छ । सो क्षेत्रमा नवग्रह, संकटा भगवती लगायतका संरचना थपिएपछि धार्मिक गतिविधि र भक्तजनको चहलपहल बढ्दै गएको उनीहहरुको भनाई छ । पछि निर्माण गरेको शनि मन्दिर विस्तार गरिरहँदा पुरानो ऐतिहासिक महत्व बोकेको धरान १४ को शनिदेव मन्दिरको प्रचारप्रसारमा भने खासै चासो नदिएको स्थानीयको भनाई छ । स्थानीय बासिन्दा तथा स्रोतहरूको भनाइलाई आधार मान्दा धरान–१४ को शनिदेव मन्दिर नै धरान(८ तीनकुनेको भन्दा पुरानो भएको पुष्टि हुन्छ । यसले दुईधारे क्षेत्रको मन्दिरलाई धरानकै पुराना धार्मिक स्थलमध्ये एकका रूपमा स्थापित गरेको छ । यहाँ पनि दैनिक भक्तजनहरुको आगमनमा कमी नभए पनि तीनकुनेमा रहेको शनि मन्दिरको तुलनामा कम आउने गरेको पूजारीहरु बताउँछन् । पूजारीले अन्य दिन भन्दा शनिवार भने यो मन्दिरमा पनि केही भीडभाड हुने गरेको बताउनुभयो ।
हाल दुवै मन्दिरमा शनिबारका दिन विशेष पूजाआजा, दर्शन तथा भक्तजनको उल्लेखनीय उपस्थिति रहने गरेको छ । धरान १५ की स्थानीय अस्मिता भुजलले आफू जहिल्यै शनिदेवको पूजाआजा गर्नुपदा धरान १४ कै विजयपुरमा रहेको शनिमन्दिरमा आउने गरेको बताउनुभयो । पुरानो इतिहास बोकेको दुईधारेको शनिदेव मन्दिर धार्मिक आस्थासँगै सांस्कृतिक पहिचानको केन्द्रका रूपमा पनि महत्वपूर्ण मानिन्छ । पुरानो शनिदेव मन्दिरलाई वेवास्ता गर्दै नयाँलाई विस्तार र विकास गर्न समिति नै गठन गरिएको पाइएको छ । समितिले संरचनादेखि विभिन्न सुविधा थप्दै लाँदा ऐतिहासिक महत्व बोकेको शनिदेव मन्दिर भने उपेक्षामा परेको स्पष्ट देख्न सकिन्छ ।
