धरान । व्यवसायिक प्रक्रिया पूरा गरेर सञ्चालन भएका ग्रिल उद्योगहरू अनाधिकृत रूपमा प्रक्रिया पूरा नगरी जथाभावी सञ्चालन भइरहेका व्यवसायीका कारण आफूहरूको व्यवसाय नै धरापमा परेको गुनासो ग्रिल व्यवसायीहरूले गरेका छन् । उनीहरूले सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित नवौँ अधिवेशनमा राज्यले समेत यस्ता अवैध व्यवसायीहरूलाई नियन्त्रण गर्न नसक्दा समस्या भोग्नु परेको बताएका हुन् । आयोजित सभालाई सम्बोधन गर्दै ग्रिल तथा स्टिल व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष बज्रसुरज आङदेम्बेले व्यवसायीहरूले भोग्नुपरेका चुनौतीका विषयमा प्रकाश पार्नुभयो । उहाँले राज्यलाई सबैभन्दा बढी कर तिर्ने, बेरोजगारहरूलाई रोजगारी सिर्जना गर्ने, प्रविधियुक्त तथा भूकम्प प्रतिरोधी भवन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ग्रिल उद्योगीहरू विविध कारणले चुनौती सामना गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो । यसैगरी संयुक्त ग्रिल उद्योग व्यवसायी संघका पूर्व अध्यक्ष ्रराजकुमार राईले ग्रिल उद्योग सानो देखिए पनि राज्यको अर्थतन्त्रमा यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले ग्रिल व्यवसायीहरूले वार्षिक ७६ अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने जानकारी दिनुभयो । नेपालमा ११ हजार ग्रिल उद्योगी रहेको, दुई लाखभन्दा बढीले रोजगारी पाएको तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब साढे १७ लाख मानिस यस व्यवसायबाट लाभान्वित भएको उहाँले प्रष्ट पार्नुभयो । धरानमा मात्र हेर्ने हो भने अन्य व्यवसायको तुलनामा ग्रिल उद्योगीहरूले राम्रो कर तिर्ने गरेको उहाँको ठोकुवा थियो ।

यसैगरी धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द विक्रम बेघाले ग्रिल व्यवसायीहरूले नगरको विकास र रोजगारी सिर्जनामा पु¥याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै व्यवसायीका समस्या समाधानमा उपमहानगरपालिका सधैं सकारात्मक रहने बताउनुभयो । उहाँले राज्यबाट कर तिर्ने वास्तविक ग्रिल व्यवसायीहरू नक्कली व्यवसायीबाट सतर्क रहनुपर्ने औंल्याउँदै त्यसमा धरान उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यसैगरी, सुनसरी उद्योग वाणिज्य संघका महासचिव प्रभाव खतिवडाले व्यवसायीहरू एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै आवश्यक समन्वय र सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा संघलाई प्रत्यक्ष रूपमा सहयोग गर्ने ५ जनालाई सम्मान गरिएको छ भने अधिवेशनले उदय कुमार राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । वि.सं. २०५३ सालमा स्थापना भएको उक्त संघले व्यवसायीहरूलाई संगठित गर्दै उनीहरूको हकअधिकार संरक्षण र पेशागत हितका लागि निरन्तर काम गर्दै आएको छ । विगतमा भाडाको घरबाट सञ्चालन हुँदै आएको संघ अहिले आफ्नै भवन निर्माणको चरणमा पुगेको छ । धरान(१६ मा निर्माणाधीन भवनका लागि धरान उपमहानगरपालिका वडा नं. १९ ले १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ भने बाँकी रकम व्यवसायीहरूले स्वैच्छिक रूपमा संकलन गर्दै निर्माण कार्यलाई अघि बढाएका छन् । ग्रिल व्यवसाय आफैंमा जोखिमपूर्ण भएकाले व्यवसायी तथा कामदारको सुरक्षालाई प्राथमिकतामा राख्दै संघले संस्थागत बीमा योजना अगाडि सारेको छ ।
