धरान । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद(उल(फित्रको अवसरमा धरानका मुस्लिम समुदायहरुले उल्लास, भाइचाराको भावना र धार्मिक आस्थासँग जोडेर मनाएका छन् । रमजान महिनाभरको रोजापछि मनाइने यो पर्वमा मस्जिद र इदगाहहरूमा विशेष नमाज अदा गरी एक–अर्कामा शुभकामना आदानप्रदान गरिएको हो । ईदको रौनकले मुस्लिम समुदायमा उत्साह थपिए पनि धरानमा मुस्लिम समुदायका लागि व्यवस्थित मदरसा नहुदा भने उनीहरुले चिन्ता व्यक्त गरेका छन् । धरानका मुस्लिम धर्मावलम्बीहरुले देश(विदेशमा जस्तै हर्षोल्लासका साथ ईद मनाइरहेका छन् । नमाजपछि सामूहिक भेटघाट, शुभकामना आदानप्रदान कार्यक्रमले समुदायमा उत्साह थपिएको छ । तर यही खुसीको माहोलबीच मदरसाको अवस्था र व्यवस्थापनप्रति चिन्ता पनि उत्तिकै बढ्दो छ । धरानमा सञ्चालन भएको मदरसाहरु भौतिक पूर्वाधार, दक्ष जनशक्ति र आधुनिक पाठ्यक्रमको अभावले समस्या भएको सरोेकारवालहरुले बताएका छन् । सरकारी निकायबाट अपेक्षित सहयोग नपाउँदा यी शैक्षिक संस्थाहरु प्रभावकारी बन्न नसकेको इसाइ धर्मका अभियन्ता डा. खालिद हुसैनले जानकारी दिनुभयो ।

इस्लामिक पात्रोको पवित्र महिना रमजानको समापनसँगै मनाइँदै गरेको ईद–उल–फित्रको अवसरमा धरानका मुस्लिम समुदायमा उत्साह त छ, तर मदरसाको अभावले युवा पुस्ताको भविष्य भने अन्योलमा स्वयम् यस समुदायका युवा अरमान अलीको भनाई छ । मुस्लिम समुदायमा धार्मिक र सांस्कृतिक शिक्षाको जग मदरसा रहेको भएपनि धरानमा व्यवस्थित मदरसाको अभावले बालबालिकाहरु आधारभूत इस्लामिक शिक्षाबाट वञ्चित हुनु परेको अर्का युवा फिरोज अली बताउनुहुन्छ । धरानमा मुस्लिम समुदायको जनसंख्या वृद्धि भइरहेको छ । अहिले धरानमा अहिले ३ हजार भन्दा बढी इस्लाम समुदाय रहेको इस्लाम धर्मका अगुवा सत्रुघन अन्सारी बताउनुह्न्छ । उहाँले इस्लाम धर्मको पवित्र चाँडमध्ये इद उल फुत्र एक रहेको बताउनुभयो । युवा पुस्तका सक्रिय अभियन्ताा फिरोज अलीले यो पर्वलाई पछिल्लो समय सामुहिक रुपमा मनाउने परम्परा बढ्दै गएकोले यसले युवा पुस्तालाई समेट्ने प्रयास भइरहेको बताउनुभयो ।
धरानमा ईद–उल–फित्रको उल्लासले सामाजिक सद्भाव र धार्मिक आस्था झल्काएको छ । तर यही उत्सवले समुदायभित्र लुकेको शैक्षिक चुनौती पनि उजागर गरिदिएको छ । अब सम्बन्धित निकाय र समुदाय मिलेर मदरसाको सुधारतर्फ ठोस पहल नगरे, आगामी पुस्ताको भविष्य अझै अन्योलमा पर्न सक्ने देखिन्छ ।
