पुस्तौंदेखि समाज धानेका शिल्पीहरूलाई सम्मान

धरान । धरान उपमहानगरपालिकाको सभाहलमा एउटा फरक खालको दृश्य देखियो । औपचारिक कार्यक्रमभन्दा बढी आत्मीयता र भाषणभन्दा बढी अनुभूति थियो । अवसर थियो–६१औं अन्तर्राष्टिूय रंगभेद तथा जातीय विभेद उन्मूलन दिवस । यसपटक कार्यक्रम औपचारिकतामा सीमित नभई पुस्तौंदेखि समाज धानेका शिल्पीहरूलाई सम्मान गरिएको थियो । गाउँ तथा सहरका गल्लीहरूमा गुन्जिने सारङ्गीको धुनदेखि आरनमा फलाम पिट्ने हातसम्म(यी पेशा मात्र नभई हाम्रो सभ्यता र पहिचानका आधार हुन् । यिनै वर्गका सात जना शिल्पीलाई धरान उपमहानगरपालिकाले सम्मान गरेको हो । सम्मानित हुनेहरूमा वरिष्ठ सारङ्गीवादक सुरेश गन्धर्व, खुकुरी शिल्पी केवल बिक, चोया शिल्पी चैता मल्लिक, जुत्ता शिल्पी धनबहादुर नेपाली, नौमती बाजा वादक वीरबहादुर दर्जी, सिलाइ शिल्पी पर्शुराम भित्रिकोटी र दाप शिल्पी नरेन्द्रबहादुर सार्की रहनु भएको छ ।

दलित समुदाय भनेर चिनिएका यी समुदायले दिएको सन्देशमूलक गीतसँगै मनोरञ्जन, निर्माण गरेका सामाग्री सबैलाई चाहिन्छ तर कामको मूल्यांकन कहिल्यै हुदैन । यसलाई मध्यनजर गरी धरान उपमहानगरपालिकाले यस बर्षे–६१औं अन्तर्राष्टिूय रंगभेद तथा जातीय विभेद उन्मूलन दिवसको अवसर पारेर एकै ठाउँमा समावेश गरेर सम्मान गरेको हो । सो अवसरमा बोल्दै धरान उपमहानगरपालकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले पुख्र्यौली पेशा र सीप नै हाम्रो पहिचान भएकाले यसको संरक्षण स्थानीय सरकारको दायित्व भएको बताउनुभयो । उहाँले उहाँहरुलाई प्रदान गरेको रकम सानो भएपनि स्थानीय सरकारले गरेको उहाँहरुकोप्रतिको सम्मान अतुलनीय भएको बताउनुभयो । सम्मानपछि हर्षित बन्दै खुकुरी शिल्पी केवल बिकले आफ्नो पेशाको स्थानीय सरकारले सम्मान दिएकोमा आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले आधुनिकतासँगै आरनहरु हराउदै गएका समयमा यस्ता सम्मानले संरक्षणमा थप सहयोग पुग्ने बताउनुभयो । उहाँमात्र हैन नौमती बाजाका वादक वीरबहादुर दर्जीले यो सम्मानले परम्परागत बाजा पुनः जीवित हुँदै गएको महसुस भएको बताउनुभयो । उहाँसँगै सम्मानित हुनु भएका अन्यले समेत स्थानीय सरकारले आफूहरुको कामको प्रशंसासँगै सम्मान गरेकोप्रति आफूहरुको पेशाप्रति गौरव महसुस भएको बताएका थिए । हुन त उहाँहरूलाई ठूलो रकमले सम्मान गरिएको थिएन । जनही पाँच हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । तर सम्मानितहरुले यो रकम मात्र नभई पुस्तौंदेखिको सीपको मूल्यांकन भएको महसुस गरेका थिए । धरान उपमहानगरपालिकाको यो सम्मानले परम्परागत सीप संरक्षणमा सकारात्मक सन्देश दिएको छ । यस्ता पेशा जोगिए मात्र मौलिक पहिचान जीवित रहने विश्वास सो अवसरमा गरिएको थियो ।

तपाईको प्रतिक्रिया