धरान । धरानमा नेपाली काँग्रेसका कार्यकर्ताहरूले निर्धक्कता साथ काँग्रेस हुँ भनेर हिँड्ने, संगठन गर्ने वातावरण बनाउनु भएका महासमिति सदस्य विनोदकुमार राईले महासमिति सदस्यबाट स्वेच्छिक राजीनामा दिनुभएको छ । नेपाली काँग्रेसका पूर्व क्षेत्रीय सभापति, सुनसरी क्षेत्र नं. १ बाट तिनिधिसभाको विगतमा प्रत्यासी समेत रहिसक्नु भएका कुशल संगठनकर्ता राईले आइतबार राजीनामा दिनुभएको हो । उहाँले नेपाली काँग्रेसका केन्द्रीय सभापतिलाई सम्बोधन गर्दै दिनु भएको स्वेच्छिक राजीनामामा भनिएको छ–‘म विगत लामो समयदेखि नेपाली काँग्रेसको विभिन्न जिम्मेवारीमा रहेर लोकतन्त्र, राष्ट्रियता र समाजवादको आदर्शप्रति क्रियाशील रही आएको कुरा यहाँलाई अवगतै छ । पार्टीले मलाई विश्वास गरेर सुम्पिएको महासमिति सदस्य जस्तो गरिमामय जिम्मेवारीप्रति सदैव आभारी छु ।’ लिखित राजीनामामा उहाँले भन्नुभएको छ, वर्तमान परिस्थितिमा विकसित केही राजनीतिक घटनाक्रम र पार्टीका कार्यशैलीमा देखिएको केही विचलनका कारण जस्तै निषेधको राजनीति, पटक–पटक मानमर्दन तथा तेजोबोधको अवस्था र लबिङको नाममा राम्रा–राम्रा व्यक्तित्वहरूलाई पार्टीबाट विस्थापित गराइने शैलीले मेरो अन्तरमन र नैतिकताले यो पदमा बसिरहन अनुमति दिएन । राजनीति केवल सत्ता र शक्तिका लागि मात्र नभई निश्चित मूल्य–मान्यता र नैतिक धरातलमा उभिनुपर्छ भन्ने मेरो अडान रहेको छ । तसर्थ अहिलेको अवस्थामा बसिरहनु भन्दा नैतिक रूपमा अलग हुनु नै उपयुक्त ठानेको छु ।

फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ मा नेपाली काँग्रेसले व्यहोर्नु परेको शर्मनाक हारले मलाई स्तब्ध र मर्माहत तुल्याएको छ । पार्टीको एक जिम्मेवार पदमा आसिन कार्यकर्ताको नाताले आफ्नो क्षेत्रमा भएको यस प्रकारको हारको नैतिक जिम्मेवारी लिनु मेरो परम कर्तव्य ठान्दछु ।
राजीनामाको अन्त्यमा भनिएको छ, जब पुराना र ऐतिहासिक पार्टीले आफ्ना क्षेत्रमा जनविश्वास गुमाउँछ र निराशाजनक स्थिति आउँछ तब पद ओगटेर बस्नु भन्दा नयाँ जनादेश लिन र जेनेरेशन (जेन्जी) हरूका लागि मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुने मेरो ठम्याई छ । अब आजको मितिदेखि नै लागू हुने गरी मैले नेपाली काँग्रेसको महासमिति सदस्यबाट स्वेच्छिक रूपमा राजीनामा दिएको छु । उहाँले आफ्नो निवेदनलाई स्वीकार गर्न अनुरोध गर्दै पार्टीको साधारण सदस्यको रूपमा आफ्नो शुभेच्छा र लोकतन्त्रप्रतिको निष्ठा भने कायमै रहने बताउनु भएको छ ।
