भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जुन प्रकारको मत परिणाम सार्वजनिक भएको छ त्यसले देशभित्र मात्र नभएर देशबाहिर समेत आश्चर्यमा पारेको छ । आजभन्दा ७७ वर्ष अगाडि प्रजातन्त्र स्थापनाका लागि गठन भएको नेपाली काँग्रेस, ७६ वर्ष अगाडि गठन भएको मूलधारको कम्युनिस्ट पार्टी एमाले, ३५ वर्ष अगाडि गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी, ३० वर्ष अगाडि गठन भएको माओवादी हालको नेपाली कम्युनिस्ट पार्टी लगायत ०६२ सालपछि उदाएका मधेशवादी तथा अन्य राजनैतिक पार्टीहरूको अस्तित्वविहीन अवस्थामा पुगेका छन् । नेपालमा प्रजातन्त्र पुनस्र्थापना पश्चात अर्थात २०४६ सालपछि निरन्तर सत्तामा बस्दै आएका नेपाली काँग्रेस, एमाले निर्वाचनको परिणामले यो अवस्थामा पुग्लान् भन्ने कल्पना सायद कसैले गरेका थिएनन् । तर भयो यस्तै । निर्वाचन परिणामलाई स्वीकार्नुको विकल्प समेत छैन । निरन्तर ३५ वर्षदेखि सत्तामा आलोपालो बस्दै आएका पुराना राजनैतिक दलहरू सम्भवत आगामी दिनमा थप निष्क्रिय हुन सक्छन् । सत्ताको बागडोर सम्हाल्दाको अवस्थामा यिनीहरूले आफूहरूको विकल्प अरू कोही हुन नसक्ने विश्वास गरेका थिए । भारतमा आज राष्ट्रिय काँग्रेसको अवस्था कहाँ छ ? नेपालकै सन्दर्भमा भन्नुपर्दा प्रजापरिषद्को नाम–निशाना छैन । भारतमा राष्ट्रिय काँग्रेसले अग्रजको मौपनिवेशवादका विरुद्ध लडेको थियो भने नेपालमा प्रजा परिषद्ले राणाहरूको विरुद्धमा पहिलो पटक आन्दोलन गरेको थियो । जसका चार जनालाई फाँसीको सजाय दिइएको थियो । इतिहासमा दलहरू हराउने र उदय हुने प्रक्रिया चलिरहन्छन् । भारतकै सत्तारुढ राजनैतिक पार्टी भारतीय जनता पार्टीले पहिलो पटक दुई सिटबाट संसदमा उपस्थिति जनाएको थियो, तर आज १५ वर्षदेखि निरन्तर मुलुकको केन्द्रमा रही नेतृत्व गरिरहेको छ । नेपालमा पुराना दलहरू तीन दशककै अवधिमा यो अवस्थामा पुग्लान् भन्ने अनुमान कसले गरेका थिए । नागरिकको आक्रोश, जनअपेक्षा बमोजिम काम गर्न नसक्नु, पारिवारिक स्वार्थमा निर्लिप्त हुनु, कमिशन, भ्रष्टाचार लगायतले यिनीहरू जनताबाट टाढिँदै गए । सत्ताको आडमा गर्न हुने–नहुने सबै काम गर्दै गए । फाटेका कपडा र भुक्के चप्पल लगाएर काठमाडौँ छिरेकाहरू रातारात नवधनाढ्यमा कहलाए । करोडौँका सवारी साधन, आलिसान महल, स्वदेश तथा विदेशमा बैंक ब्यालेन्स यिनको पतनको मुख्य कारण बन्दै गयो । यिनीहरूले न आफू सम्हालिए, न अरूले दिएको सल्लाह माने । पुराना त गलत बाटोमा गए, तर नयाँ भनिएका पुराना दलका नेतृत्व पंक्ति समेतले आफ्ना राजनैतिक भविष्य सुनिश्चित गर्न सकेनन् । पुरानैकै देखासिखी, पदचाप पछ्याउनु भन्दा पृथक ढंगले अगाडि बढ्न सकेनन् । बीपीका आदर्श, गणेशमानको त्याग, कृष्णप्रसाद भट्टराईको सादगी, पुष्पलाल श्रेष्ठको योगदानलाई सडकमा भजाउने बाहेक यिनीहरूले समेत नागरिकको जनजीविकाको सवालमा सिन्को भाँचेका छैनन् । त्यसैले नेपाली जनताले विकल्प खोज्दै गए । विकल्पको रूपमा उनीहरूले नयाँ पार्टीलाई स्थापित गरिदिएका छन् । सत्ताको बागडोर सम्हाल्ने हैसियतमा पुगेका नयाँ राजनैतिक दलहरूले अब जीतको उन्माद, कसैप्रति आग्रह–पूर्वाग्रह राखेर पक्कै काम गर्ने छैनन् । जनआकांक्षा बुझेर काम गर्नेछन् । नत्र आगामी निर्वाचनले यिनलाई समेत पुरानैकै हैसियतमा पु¥याउने निश्चित छ ।
