धरान । भारतीय भूतपूर्व सैनिक संघ केन्द्रीय समितिको १७औँ साधारणसभा तथा सातौँ अधिवेशन धरान–१३ स्थित केन्द्रीय कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ । संघका केन्द्रीय अध्यक्ष कर्णेल विजय कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुवेदार मेजर अनरेरी क्याप्टेन मेघसिंह राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने विभिन्न तहका जे.सि.ओ. अधिकारीहरूको पनि उपस्थिति रहेको थियो । संघका अनुसार करिब ७५० जनाको सहभागिता रहेको कार्यक्रममा केन्द्रीय समितिका सचिव अनरेरी सुवेदार मेजर भीम कुमार राईले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष अनरेरी क्याप्टेन नेत्र प्रसाद निलेखुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सह–सचिव कर्ण बहादुर गुरुङले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्ययोजना सभामा पेश गर्नुभएको थियो। प्रतिवेदनमा वर्षभरि १४ पटक बैठक बसेर विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरिएको जानकारी दिइएको थियो ।

संघका सचिव कर्ण बहादुर गुरुङका अनुसार भारतीय भूतपूर्व सैनिकहरूको कल्याणका लागि ‘मनिक्सा वृद्धाश्रम’ स्थापना गर्ने योजना सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । भूतपूर्व सैनिकहरूको कल्याणका लागि जनरल मनिक्साको नाममा ‘मनिक्सा वृद्धाश्रम’ स्थापना गर्ने प्रस्ताव साधारणसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । उक्त योजना कार्यान्वयनका लागि प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन भारतीय पेन्सन पेइङ अफिससँग अनुरोध गर्ने निर्णय पनि गरिएको छ, सचिव गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा संघका कोषाध्यक्ष अनरेरी क्याप्टेन मानसि तामाङले आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रगति प्रतिवेदन, भावी योजना तथा आर्थिक प्रतिवेदन सभाले अनुमोदन गर्दै पारित गरेको थियो ।
सभाको अन्त्यतिर अध्यक्षले कार्यसमिति विघटन गर्दै नयाँ कार्यसमिति चयनका लागि प्रोफेसर भू.पू. नायक चन्द्र बहादुर फोम्बो लिम्बूको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गर्नुभएको थियो । सो निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरी अनरेरी क्याप्टेन नेत्र प्रसाद निलेखुको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यससँगै भारतीय भूतपूर्व सैनिक संघको १७ औँ साधारणसभा तथा सातौँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको संघले जनाएको छ ।
