सुनसरीमा पुराना दल पाखा लागे, नयाँ दलको उदय

धरान । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै जिल्लाको राजनीतिक समीकरणमा ठूलो परिवर्तन देखिएको छ । सार्वजनिक परिणाम अनुसार दशकौँदेखि प्रभाव जमाउँदै आएका पुराना राजनीतिक दलहरूलाई पछि पार्दै नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले ऐतिहासिक सफलता हासिल गरेका छन्। यसपटकको निर्वाचनमा सुनसरीका चारमध्ये तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू विजयी भएका छन् भने सुनसरी क्षेत्र नं. १ मा हर्क राज राई नेतृत्वको श्रम संस्कृति पार्टीले जित हात पारेको छ । परिणामले जिल्लामा पुराना दलहरूको प्रभाव घट्दै गएको र नयाँ राजनीतिक शक्तिप्रति मतदाताको विश्वास बढ्दै गएको संकेत गरेको विश्लेषण गरिएको छ । सुनसरी क्षेत्र नं. १ मा श्रम संस्कृति पार्टीका हर्क राज राई विजयी हुनुभएको छ । उहाँले ३५ हजार ७४१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभएको छ । राईले तामाङभन्दा ८ हजार ४ सय ९२ मतको फराकिले अन्तरले जित हात पार्नुभएको हो । यसैगरी नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका टिकाराम लिम्बुले ६ हजार ४६३ मत र नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० मत मात्र प्राप्त गर्नुभएको छ ।

सुनसरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापा विजयी हुनुभएको छ । उहाँले ५७ हजार ३४८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गर्नुभएको छ । थापाले कोइरालाकालाई४१ हजार २ सय ७७ फराकिलो मतल अन्तरले जित हात पार्नुभएको हो । सुनसरी क्षेत्र नं. ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक कुमार चौधरी भारी मतान्तरसहित विजयी हुनुभएको छ । उहाँले ४७ हजार ४२१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय कुमार गच्छदारले २० हजार ५०१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी भगवती चौधरीले १५ हजार ८३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सुनसरी क्षेत्र नं. ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक कुमार साह विजयी हुनुभएको छ । उहाँले ४२ हजार ७७१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले १ञ्६ हजार ५८७ मत प्राप्त गर्नुभएको छ । अन्तिम मतपरिणामले सुनसरी जिल्लामा पुराना राजनीतिक दलहरूको प्रभाव उल्लेखनीय रूपमा घटेको देखाएको छ । लामो समयदेखि सत्ता र राजनीतिमा प्रभाव जमाउँदै आएका दलहरूलाई पछि पार्दै नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले जनसमर्थन प्राप्त गरेका छन् । राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको निर्वाचन परिणामले मतदाताहरू परिवर्तन चाहिरहेका छन् भन्ने स्पष्ट संकेत दिएको छ । विशेषगरी युवापुस्ताको समर्थन र वैकल्पिक राजनीतिक एजेन्डाका कारण नयाँ दलहरूलाई उल्लेखनीय सफलता मिलेको विश्लेषण गरिएको छ ।
यस परिणामसँगै सुनसरी जिल्लामा नयाँ राजनीतिक युगको सुरुवात भएको टिप्पणी पनि हुन थालेको छ । पुराना दलहरूका लागि यो परिणाम गम्भीर आत्मसमिक्षाको विषय बनेको छ भने नयाँ राजनीतिक शक्तिहरूका लागि ठूलो अवसर र चुनौती दुवै बनेको छ ।

तपाईको प्रतिक्रिया